काठमाडौं — बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ।
सिबिफिनका निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै परिसंघको अध्यक्ष पद रिक्त भएको थियो।
रिक्त अध्यक्ष पदमा आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्वलाई निरन्तरता दिन उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको हो।
२०८३ भदौ २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको बैठकले उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको जनाएको छ।
महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत रहेका उपाध्याय नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन्। उनी अनुभवी व्यवसायी, रणनीतिकार तथा संस्थागत विकासमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।
सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकास र सुदृढीकरणमा योगदान पुर्याउँदै आएका उपाध्यायले विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको नेतृत्वदायी भूमिकामा समेत काम गरिसकेका छन्।
हाल बैंकिङ तथा वित्तीय क्षेत्रले नीतिगत र व्यावहारिक चुनौती सामना गरिरहेको अवस्थामा उपाध्यायको अनुभव र समन्वयकारी नेतृत्वले सिबिफिनको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
उनको नेतृत्वमा सिबिफिनले बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता र दिगो विकासका लागि नीतिगत पैरवी तथा सरोकारवाला निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

