काठमाडौं ।
नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकले विद्युतीय तथा अन्य नयाँ निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ।
योजनाअन्तर्गत नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनेछ।
त्यस्तै, कर्जा प्रशासनिक शुल्कबापत ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। कर्जा लिने ग्राहकले कुनै अतिरिक्त शुल्कबिना रु. ३ लाखसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन्।
नेपाल बैंकले नाडा अटो शोमा सहभागी ग्राहक तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा सम्पर्क गरी बैंकका नवीनतम वित्तीय सेवा तथा सवारी कर्जासम्बन्धी सुविधाबारे जानकारी लिन आग्रह गरेको छ।

