ईश्वरी थापा
काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले ल्हेन्दे, भोटेकोशी,केरुङ, त्रिशूली नदी –रसुवालगायत तटीय क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका श्रमिकको सम्झनामा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ।
असोज २ गते आयोजित कार्यक्रममा बाढीमा ज्यान गुमाएका ५१२ श्रमिकको स्मृतिमा दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो।
कार्यक्रममा बाढी प्रभावित परिवार, श्रमिक, सामाजिक अभियन्ता, विद्यार्थी, पत्रकार तथा जिफन्टसँग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।
जिफन्टले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित श्रमिक तथा समुदायका लागि क्षतिपूर्ति, पुनर्स्थापना, पुनर्निर्माण र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।
जिफन्टले जलवायु न्यायको माग गर्दै जलवायु संकटबाट प्रभावित देश तथा समुदायलाई ऋणका रूपमा नभई अनुदान तथा जलवायु वित्तमार्फत सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ। साथै, जीवाश्म इन्धनमा हुने सार्वजनिक लगानीलाई क्रमशः अन्त्य गर्दै श्रमिक तथा लैङ्गिक न्याय सुनिश्चित हुने गरी नवीकरणीय ऊर्जातर्फ न्यायपूर्ण कदम अघि बढाउनुपर्ने माग गरेको छ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको अकस्मात् बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको जिफन्टको भनाइ छ।
बाढीबाट पुल, जलविद्युत् आयोजना, कृषि क्षेत्र, सडक, जमिन तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको जनजीवनमा गम्भीर असर परेको छ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनबाट उत्पन्न संकटको प्रत्यक्ष प्रभाव श्रमिक, किसान, यातायात ,पर्वतारोहण , जलविद्युत् क्षेत्रमा कार्यरत श्रमिक तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा परेको बताउनुभयो।
उहाँले विपद्पछिको राहत र पुनर्निर्माणसँगै श्रमिकको अधिकार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभयो।
श्रेष्ठले जलवायु संकट भविष्यको मात्र विषय नभई वर्तमानकै गम्भीर चुनौती बनिसकेको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणसँगै जलवायु संकटका मूल कारण सम्बोधन गर्न र भबिश्यमा अझै हुन सक्ने सम्भावनामा चनाखो बनी सिघ्र कदम चाल्न ढिलाइ गर्न नहुने बताउनुभयो।
जिफन्टले जलवायु परिवर्तनबाट भएको क्षतिको अन्तर्राष्ट्रिय स्तरमा उचित सम्बोधनका लागि सरकारले प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने जनाएको छ। यसका लागि लाखौँ श्रमिकको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।
कार्यक्रममा सहभागीहरूले दिवङ्गत तथा बेपत्ता श्रमिकहरूको
स्मृतिमा दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

