काठमाडौं । विश्व बैंक समूहले आर्थिक वर्ष सन् २०२६ मा इतिहासकै सर्वाधिक निजी पुँजी परिचालन गरेको जनाएको छ। समूहले हालसम्मकै उच्च परिमाणमा ग्यारेन्टी जारी गर्दै विकासशील अर्थतन्त्रमा निजी लगानी आकर्षित गर्न उल्लेखनीय प्रगति हासिल गरेको हो।
विश्व बैंक समूहका अनुसार आर्थिक वर्ष सन् २०२२ मा ३५ अर्ब अमेरिकी डलर रहेको निजी पुँजी परिचालन सन् २०२६ मा बढेर १ खर्ब १२ अर्ब डलर पुगेको छ। पछिल्लो चार वर्षमा निजी पुँजी परिचालन तीन गुणाभन्दा बढीले वृद्धि भएको हो।
समूहको आफ्नै वित्तीय स्रोतसमेत जोड्दा आर्थिक वर्ष २०२६ मा विकासशील अर्थतन्त्रमा परिचालन तथा लगानी भएको कुल रकम २ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको विश्व बैंक समूहले जनाएको छ।
निजी पुँजी परिचालनमा वृद्धि विभिन्न आय समूहका मुलुकमा देखिएको छ। निम्न मध्यम आय भएका देशमा सन् २०२२ मा १४ अर्ब डलर रहेको निजी पुँजी परिचालन सन् २०२६ मा बढेर ३७ अर्ब डलर पुगेको छ।
त्यस्तै, उच्च मध्यम आय भएका देशमा निजी पुँजी परिचालन १२ अर्ब डलरबाट बढेर ५० अर्ब डलर पुगेको छ। यो चार गुणाभन्दा बढीको वृद्धि हो। निजी पुँजी आकर्षित गर्न सबैभन्दा चुनौतीपूर्ण मानिने न्यून आय भएका देशमा भने पुँजी परिचालन करिब ३ अर्ब डलरकै स्तरमा रहेको विश्व बैंक समूहले जनाएको छ।
अफ्रिकी मुलुकमा पनि निजी पुँजी परिचालन उल्लेख्य रूपमा बढेको छ। सन् २०२२ मा करिब ९ अर्ब डलर रहेको यस्तो पुँजी सन् २०२६ मा बढेर २२ अर्ब डलर पुगेको छ। यो करिब १५० प्रतिशतको वृद्धि हो।
विश्व बैंक समूहका अनुसार पछिल्ला तीन वर्षमा निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्न संस्थागत सुधार गरिएका कारण यस्तो परिणाम आएको हो। समूहले आफ्ना प्रक्रिया थप छिटो र सरल बनाउनुका साथै सार्वजनिक तथा निजी क्षेत्रसम्बन्धी कामलाई थप प्रभावकारी बनाएको जनाएको छ।
लगानीकर्ताका लागि उपलब्ध वित्तीय उपकरण विस्तार गर्दै विकासशील अर्थतन्त्रमा निजी क्षेत्रको लगानी बढाउने दिशामा समूहले आफ्नो भूमिका थप सुदृढ बनाउँदै लगेको पनि विश्व बैंक समूहले जनाएको छ।

