काठमाडौं —
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको 0राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले काठमाडौंको सामाखुसी स्थित क्यानभास बसन्त ऋतु स्कुलले रु. एक लाख एकाउन्न हजार नौ सय उनान्सय रुपैयाँ सहयोग गरेको छ। विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनको सामूहिक सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरिएको हो।
२०८३ साल भाद्र १० गते भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय परिवारले राहतका लागि योगदान गर्ने निर्णय गरेको हो। विद्यालय प्रशासनका अनुसार, विद्यार्थीहरूमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना विकास गर्नुका साथै विपद्मा परेका नागरिकप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले विद्यालय परिवारबाट स्वेच्छिक रूपमा सहयोग संकलन गरिएको हो।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर मल्लले यस्तो मानवीय कार्यले विद्यार्थीहरूमा सहयोग र सेवाको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयले बाढीबाट ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै सम्पर्कविहीन तथा हराइरहेका व्यक्तिहरूको शीघ्र सकुशल उद्धारको कामना गरेको छ। क्यानभास बसन्त ऋतु स्कुलको यो योगदान विपत्तिको समयमा विद्यालय परिवारले देखाएको मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ।

