काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले भोटेकोसी बाढीपछि भइरहेको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामकारबाहीको समीक्षा गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोसी बाढीलगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिए। उनले विपद्पछि सरकार तथा राजनीतिक दलहरूले गरिरहेका राहत, उद्धार र पुनर्निर्माणका कामको अवस्थाबारे बैठकमा समीक्षा गरिएको बताए।
बैठकले रास्वपा सभापति रवि लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ। उक्त संयन्त्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल, जनमत पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने तथा संसद्बाहिर रहेका दलहरूको सहभागिता रहने खरेलले बताए।
त्यस्तै, एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ। समितिमा संसद्मा रहेका राजनीतिक दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व रहने जनाइएको छ।
विशेष समितिले विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन, आवश्यक छानबिन तथा राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा समन्वय गर्ने बताइएको छ। यद्यपि समितिको विस्तृत कार्यक्षेत्र भने अझै तय गर्न बाँकी रहेको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणका विषयमा समेत छलफल भएको प्रवक्ता खरेलले जानकारी दिए।
भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा पुनर्निर्माणमा देखिएका चुनौती र आगामी कार्यदिशाबारे राजनीतिक दलहरूबीच समन्वय बढाउने उद्देश्यले सर्वदलीय बैठक आयोजना गरिएको जनाइएको छ।

