काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा संविधानको धारा १६८(२) तथा पार्टीको निर्णयअनुसार मन्त्रीहरूले तत्काल प्रभावबाट राजीनामा दिएको उल्लेख गरिएको छ। पत्रमार्फत राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।
राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी तथा वन–वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री किरण थापा, उद्योग, पर्यटन, श्रम तथा यातायात राज्यमन्त्री बिन्दु श्रेष्ठ तथा वन तथा वातावरण राज्यमन्त्री भरतबहादुर केसी रहेका छन्।
प्रदेश सरकारको मन्त्रालय संख्या १४ बाट ८ मा झारिएपछि केही मन्त्री जिम्मेवारीविहीन बनेका थिए। यसैबीच केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने समझदारी बनेपछि एमाले नेतृत्वले सरकारबाट बाहिरिन निर्देशन दिएको बताइएको छ।
नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै विभिन्न प्रदेशमा एमाले–नेकपा गठबन्धनमार्फत नयाँ सरकार गठनको कसरत तीव्र बनेको छ।
साउन २०८१ देखि कांग्रेस–एमालेको संयुक्त नेतृत्वमा सञ्चालन हुँदै आएको बागमती प्रदेश सरकार करिब दुई वर्षपछि संकटमा परेको हो। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

