काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सहमति भएको छ।
सहमतिअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने सहमति भएको छ।
देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे पनि तत्काल छानबिन सुरु गरिनेछ। यस्तै, दुवै मृतकका परिवारका योग्य एक–एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ।
छानबिन समितिको सुझावका आधारमा स्थानीय सरकारसँगको समन्वयमा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरिने पनि सहमति भएको छ।
सम्झौतापत्रमा मृतक परिवारका प्रतिनिधि तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। सरकारले सहमतिका सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ भने पीडित परिवारले पनि प्रतिबद्धता समयमै पूरा हुने विश्वास व्यक्त गरेका छन्।
दुवै मृतकको अन्त्येष्टि आजै गरिने जनाइएको छ।

