काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुगुको सोरु गाउँपालिका–६ निवासी शाहीले नेकपाका १४ र एमालेका १० प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। उक्त दाबी संविधानअनुकूल रहेको ठहर गर्दै प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। शाही कर्णाली प्रदेश सरकारका पाँचौँ मुख्यमन्त्री बनेका छन्। उनको पद तथा गोपनीयताको शपथग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भएपछि कर्णालीमा नेकपा र एमालेबीच नयाँ सत्ता समीकरण बनेको हो। सोही राजनीतिक समझदारीअनुसार सरकारको नेतृत्व नेकपाले गर्ने र एमालेले समर्थन गर्ने सहमतिअनुरूप शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।

