काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले सर्वदलीय संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन्।
सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले सुनसरीको हिंसात्मक घटनाले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताए।
उनले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्नेमा जोड दिए।
प्रचण्डले भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता चुनौतीपूर्ण समयमा राजनीतिक दलहरूले राष्ट्रिय सहमति र एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताए। उनले राष्ट्रिय महत्वका संवेदनशील विषयमा रास्वपा नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने धारणा राखे।
संसद्भित्र सरकारको प्रस्तुति पनि अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पारे। उनका अनुसार संवाद, सहमति र राजनीतिक समझदारीबाट मात्रै वर्तमान परिस्थितिलाई सहज बनाउन सकिन्छ।
प्रचण्डले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिइसकेको जानकारी दिए।
घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे। उनले अहिले राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको भन्दै सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

