काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारले अपेक्षाअनुसार नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे।
उनले सरकारलाई अहिले के गरिरहेको छ र कहाँ छ भन्ने प्रश्न उठाउँदै यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएर सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउनुपर्ने बताए। थापाले प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटघाट गर्ने, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गर्ने र साझा प्रयासका लागि आधार तयार गर्नुपर्ने धारणा राखे।
उनका अनुसार सरकार बन्दुकको गोली र लाठीमा मात्र देखिनु हुँदैन, सामाजिक सञ्जालका स्टाटसमै सीमित पनि हुनु हुँदैन। सरकार अभिभावक मात्र नभई नेतृत्वदायी भूमिकामा देखिनुपर्ने भन्दै उनले सबैलाई विश्वासमा लिएर अघि बढ्न प्रधानमन्त्री सक्षम हुनुपर्ने बताए।
भूकम्प र कोभिड–१९ महामारीका बेला पनि राजनीतिक मतभेदका बाबजुद प्रधानमन्त्रीको आह्वानमा सबै दल एक ठाउँमा उभिएको स्मरण गराउँदै थापाले अहिलेको परिस्थितिमा पनि त्यही अभ्यास आवश्यक रहेको उल्लेख गरे।
उनले सुनसरीको तनाव समाधानका लागि सरकारले सबै पक्षसँग संवाद, समन्वय र साझा पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
‘यतिबेला प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्ने हो । प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने हो । सबैबाट साझा प्रयास गर्ने कुराको एउटा आधार तयार गर्ने हो’, उनले भने ।
सर्वदलीय बैठकबाट निस्कने क्रममा गगन थापाको भनाई
यो बेलामा प्रधानमन्त्रीले रिच आउट गर्नु पर्दैन र ? सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन ? सबैको भएर सबैलाई जोडेर लैजाने प्रयास गर्नु पर्दैन र? गर्नुपर्छ भन्ने हामी ठान्छौँ । सरकार बन्दुकको गोली र लाठ्ठीमा मात्र भेटिनु हुँदैन। स्टाटसहरुमा मात्र सिमित रहनु हुँदैन। सरकार भनेको अभिभावक मात्र होइन, लिडर पनि हो। लिडरले ऋयििबदयचबतभ गर्न सक्नुपर्छ। अरुलाई विश्वास गर्न सक्नुपर्छ अनि अरुले पनि विश्वास गर्छ। यतिबेला प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो, राष्ट्रपतीलाई भेट्ने हो, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने हो। आफुले गरिरहेका प्रयासका बारेमा बताउने हो। साझा प्रयासका लागि आधार पनि निर्माण गर्ने हो। भुकम्प र कोभिडका बेला दलहरुका बिचमा तनाव व्यापक थियो तर प्रधानमन्त्रीले बोलाउँदा सबै जना दौडिएर आएका थियौँ। यो नेपाली राजनीतिक दलहरुको क्यारेक्टर हो। नेपालका सबै प्रधानमन्त्रीहरुले अप्ठेरो पर्दा यो गर्दै आउनु भएको छ।

