जलबीरेमा तीन सवारीसाधन ठोक्किँदा २५ भन्दा बढी घाइते, अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालन
काठमाडौँ — चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबीरे नजिक आइतबार (आज)बिहान तीन सवारीसाधन एकआपसमा ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक पन्छाइएसँगै यातायात पुनः सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख १६७१ नम्बरको बस, काठमाडौंबाट दाङतर्फ जाँदै गरेको अर्को बस र एउटा ट्रक एकआपसमा ठोक्किएका हुन्। दाङतर्फ जाँदै गरेको बसका चालक गम्भीर घाइते भएका छन्। घाइतेको संख्या २५ भन्दा बढी रहेको जनाइए पनि यकिन विवरण आउन बाँकी छ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले बिहान ८:१५ बजे सूचना जारी गर्दै दुर्घटनाग्रस्त तीनै सवारीसाधन हटाइएपछि नारायणगढ–मुग्लिन सडकमा यातायात पुनः सञ्चालनमा आएको जानकारी दिएको छ।
निरन्तर वर्षा र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी सञ्चालन रोकेको थियो। आइतबार बिहान ६ बजे सडक खुल्नेबित्तिकै सवारीको चाप बढ्दा लेन अनुशासन उल्लङ्घनका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
सडक डिभिजन कार्यालयले चालकलाई निर्धारित लेनको पालना गर्दै सीमित गतिमा सवारी चलाउन आग्रह गरेको छ।

