काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी र खोलामा पानीको बहाव एक्कासि बढ्न सक्ने सम्भावना रहेको छ।
यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदी तथा खोला आसपास अनावश्यक आवतजावत नगर्न, सतर्क रहन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना पालना गर्न विभागले आग्रह गरेको छ।
विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित तिनका प्रमुख सहायक नदी तथा कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको जलस्तर भने हाल जोखिमको सीमाभन्दा तल रहेको छ। यद्यपि निरन्तर वर्षा भइरहेकाले नदीको बहावमा अचानक वृद्धि हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

