काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको असोजमा सम्पन्न नियमित १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई अद्यावधिक गर्दै आधिकारिक मान्यता प्रदान गरेको छ।
निर्वाचन आयोगबाट पार्टीको नयाँ नेतृत्व र संशोधित विधानले वैधानिक मान्यता पाएसँगै कांग्रेसभित्रको संगठनात्मक एकता र सुदृढीकरणको विषयले नयाँ चर्चा पाएको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसकी महामन्त्री डा. डीला संग्रौलाले टपटेन खबरका प्रतिनिधिसँग कुरा गर्दै विगतका सबै तिक्तता र मतभेद बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन बाहिर रहेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छन्।
महामन्त्री संग्रौलाले पार्टीले पूर्ण वैधानिकता प्राप्त गरिसकेको अवस्थामा अब सबै एकजुट भएर संगठन सुदृढीकरणको अभियानमा अघि बढ्नुपर्ने बताइन्।
उनले पार्टीभित्रका असमझदारी र मतभेदलाई अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै बाहिर रहेका सम्पूर्ण साथीहरूलाई मूल प्रवाहमा फर्कन हार्दिक आग्रह गरेकी छन्।

