काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको विनिमयदर अघिल्लो दिनको तुलनामा बढेको हो।
आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा थियो। यद्यपि, गत जेठ ७ गते कायम भएको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा हालसम्मकै उच्च विनिमयदर रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
युरो एकको खरिददर १७६ रुपैयाँ र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ। त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २२ पैसा र बिक्रीदर २०७ रुपैयाँ २ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ २ पैसा र बिक्रीदर ४१० रुपैयाँ ६१ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही फरक पर्न सक्ने भएकाले अद्यावधिक दर सम्बन्धित बैंक वा राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने उल्लेख गरेको छ।

