काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाख सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोडेको जानकारी दिएका हुन्।
वाङचुकका अनुसार विभिन्न राजनीतिक दलका ६५ सांसदले अनशन अन्त्य गर्न आग्रह गर्दै पत्र पठाएका थिए। लामो छलफल र देशमा हिंसाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णय गरिएको उनले बताएका छन्।
उनले यस विषयमा चाँडै विस्तृत भिडियो सन्देश सार्वजनिक गर्ने उल्लेख गर्दै आफ्ना समर्थकलाई संयमित रहन र कुनै पनि स्थानमा हिंसा हुन नदिन आग्रह गरेका छन्।

भारतमा एनईईटी–यूजी प्रश्नपत्र चुहावटको विरोधमा विद्यार्थीहरूले करिब एक महिनादेखि नयाँदिल्लीको जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका छन्। आन्दोलनरत विद्यार्थीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आएका छन्।
वाङचुकले पनि विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अनशन सुरु गरेका थिए। अहिले उनले अनशन अन्त्य गरे पनि आन्दोलनप्रति आफ्नो समर्थन कायम रहने संकेत दिएका छन्।

