सुरभि साहित्य प्रतिष्ठानद्वारा हरेक वर्ष श्रावण महिनामा प्रदान गरिने पुरस्कारहरूको घोषणा गरिएको छ।
यस वर्ष २०८३ कोलागि “सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार” निर्मल रमण पराजुलीलाई, “सुलेख आख्यान प्रतिभा पुरस्कार” सुनिता भट्टराईलाई, “सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार” इन्दिरा दीक्षितलाई र “सुरभि अच्युतराम चालिसे लघुकथा पुरस्कार” खेमराज पोख्रेललाई प्रदान गरिने कुरा प्रतिष्ठानको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ।
उल्लेखित चारै वटा पुरस्कारको राशि जनही नगद रु दश हजार सहित सम्मान पत्र रहेको छ। पुरस्कार, २०८३ श्रावण १६ गते गोकर्णेश्वर नगरपालिका – ८ मा नवनिर्मित सुरभि साहित्य प्रतिष्ठानको भवन (नियमित कार्यक्रम स्थल कृष्ण मन्दिर कुटी नजिकै) प्रदान गरिने ब्यहोरा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले जानकारी दिनुभयो।
उक्त पुरस्कार मूल्याङ्कन तथा सिफारिस समितिको संयोजकमा लामो समय साझा प्रकाशनमा सेवा गर्नुभएका, यस प्रतिष्ठानका सल्लाहकार दीपकसिंह भण्डारी तथा सदस्यमा बाजुराम पौडेल र प्रमोद प्याकुरेल रहनु भएको थियो।
सोही दिन ११ बजे संस्थाको १७ औँ वार्षिक साधारण सभाको पनि आयोजना हुने जनाइएको छ। दिउसो १ बजेबाट महिनाको तेस्रो शनिवार आयोजना हुँदै आएको नियमित आख्यान वाचन तथा पुरस्कार अर्पणको कार्यक्रम तालिका पनि उक्त प्रेस वक्तव्य मार्फत जानकारी गराइएको छ।

