काठमाडौं, साउन ५।
कीर्तिपुर नगरपालिका–स्थित सुप्लाङकोटमा पार्किङमा राखिएको एक कारमा आगलागी हुँदा कारभित्र रहेका एक पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आगलागीपछि कारभित्र जलेको अवस्थामा एक पुरुषको शव फेला परेको हो। मृतकको हालसम्म सनाखत हुन नसकेको र पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार पार्किङमा राखिएको कारमा एक्कासी आगो लागेको थियो। घटनापछि स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

