काठमाडौं — बाढी तथा विपद्बाट प्रभावित परिवारको सहयोगका लागि रोल्पाली चेली फाउन्डेसनले सञ्चालन गरेको राहत अभियानमा अध्यक्ष यमुना केसी, सामाजिक अभियन्ता राजन थापा, अभियन्ता आस्मा रावतलगायतको सक्रिय सहभागितामा अपेक्षा गरेभन्दा धेरै सहयोग जुटेको छ।
विपद्को पीडामा रहेका परिवारलाई केही राहत पुर्याउने उद्देश्यले सुरु गरिएको अभियानमा देश तथा विदेशमा रहेका सहयोगी मनहरूले उत्साहजनक साथ र सहयोग दिएका हुन्। अभियानमा प्राप्त सहयोगले आफूहरूलाई थप जिम्मेवार बनाएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले अभियानमा जोडिएर आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ। “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो,” भन्दै फाउन्डेसनले सहयोगी सबै हातप्रति सम्मान र धन्यवाद प्रकट गरेको छ।
फाउन्डेसनका अनुसार संकलित राहत सामग्री तथा सहयोगलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै बाढीपीडित तथा अन्य विपद् प्रभावित परिवारसम्म पुर्याइनेछ। वास्तविक पीडितको पहिचान गरी राहतलाई पारदर्शी र प्रभावकारी रूपमा वितरण गर्ने प्रतिबद्धता पनि फाउन्डेसनले जनाएको छ।
विपद्को समयमा पीडित परिवारको आँसु पुछ्न समाजका विभिन्न क्षेत्रबाट हातेमालो भइरहेको बेला रोल्पाली चेली फाउन्डेसनको अभियानमा देखिएको जनसहभागिताले मानवीय संवेदना अझै जीवित रहेको सन्देश दिएको छ।
अभियानमा सक्रिय रूपमा सहभागी सामाजिक अभियन्ता राजन थापाले भावुक हुँदै भने, “विपद्को पीडामा रहेका परिवारको आँसु देख्दा मन थाम्न गाह्रो हुन्छ। हामीले गरेको सानो सहयोगले कसैको घरमा आशा र मुस्कान फर्काउन सक्छ भने त्योभन्दा ठूलो मानवीय सेवा अरू केही हुन सक्दैन।”
“पीडामा परेका नागरिकलाई एक्लो महसुस हुन नदिने र सक्दो सहयोग पुर्याउने हाम्रो अभियान हो,” फाउन्डेसनले जनाएको छ।
बाढी र विपद्ले घरबार, रोजगारी तथा दैनिक जीवन नै प्रभावित बनाएका परिवारका लागि समयमै प्राप्त हुने सानो सहयोग पनि ठूलो सहारा बन्न सक्छ। यही मानवीय भावनासहित अभियानमा जोडिएका सम्पूर्ण सहयोगी हातलाई फाउन्डेसनले नमन गरेको छ।

