तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
म को हुँ? मेरो अस्तित्वको वास्तविक आधार के हो? यो दृश्य संसार नै सम्पूर्ण सत्य हो कि दृश्यभन्दा पर पनि कुनै अदृश्य चेतना विद्यमान छ? मानिस किन जन्मन्छ? किन दुःख भोग्छ? किन प्रेम खोज्छ? किन शान्तिको अनन्त यात्रामा भौँतारिन्छ? यी प्रश्न सामान्य जिज्ञासा होइनन्। यी त मानव अस्तित्वका सनातन प्रश्न हुन्। यिनै प्रश्नको गहिराइमा प्रवेश गर्दा आध्यात्मिक चेतनाको ढोका खुल्छ। मानिस बाहिरी संसार जित्न चाहन्छ। तर आफ्नै मन जित्न सक्दैन। ऊ सम्पत्ति सञ्चय गर्छ। तर आत्मिक सन्तुष्टि प्राप्त गर्न सक्दैन। ऊ संसार बुझ्न खोज्छ। तर आफूलाई चिन्न सक्दैन। यही मानवीय विरोधाभासको समाधान खोज्ने आध्यात्मिक मार्ग हो—निजानन्द दर्शन।
निजानन्द केवल धार्मिक आस्थाको विषय होइन। यो आत्मबोधको यात्रा हो। यो चेतनाको जागरण हो। यो जीव र ब्रह्मबीचको सम्बन्ध बुझ्ने तात्त्विक प्रयास हो। यसले मानिसलाई बाह्य आवरणबाट भित्र फर्काउँछ। आत्माको मौन आवाज सुन्न सिकाउँछ। जीवनको वास्तविक उद्देश्य पहिचान गर्न प्रेरित गर्छ।
‘निज’ आत्माको प्रतीक हो। ‘आनन्द’ परम चेतनासँगको आत्मिक सम्बन्धबाट प्राप्त हुने परमानन्दको अनुभूति हो। त्यसैले निजानन्दको अर्थ क्षणिक सुख होइन। यो आत्माको गहिरो तृप्ति हो। यो बाह्य उपलब्धिमा निर्भर हुँदैन। यो भौतिक सम्पन्नताको दास हुँदैन। यो आत्मज्ञान, प्रेम र ब्रह्मानुभूतिको अवस्थासँग सम्बन्धित हुन्छ।
निजानन्द दर्शनको आध्यात्मिक आधार श्रीकृष्ण प्रणामी परम्परामा विकसित भएको छ। यसका मूल प्रेरणास्रोत धनी श्री देवचन्द्रजी महाराज हुनुहुन्छ। उहाँको साधना, स्वाध्याय र आध्यात्मिक अनुभूतिले यस दर्शनको आधार तयार गर्यो। उहाँबाट प्राप्त तारतम ज्ञानलाई श्री प्राणनाथजीले व्यापक आध्यात्मिक अभिव्यक्ति दिनुभयो।
यो परम्परा गुरुबाट शिष्यमा हस्तान्तरण भएको ज्ञानको निरन्तरता मात्र होइन। यो आत्मचेतनाको जागरणको परम्परा हो। यसले ज्ञानलाई जीवनसँग जोड्छ। भक्तिलाई अनुभूतिसँग जोड्छ। अनुभूतिलाई आचरणसँग जोड्छ।
तारतम वाणी यस दर्शनको प्रमुख शास्त्रीय आधार हो। श्री कुलजम स्वरूपका चौध ग्रन्थमा समाहित १८,७५८ चौपाइले यसको ज्ञानपरम्परालाई अभिव्यक्त गर्छन्। रास, प्रकाश, कलमा, सागर र खिलवतलगायतका ग्रन्थमा आध्यात्मिक चिन्तनका विविध आयाम प्रस्तुत भएका छन्। यी वाणीमा ब्रह्मतत्त्व, आत्मस्वरूप, सृष्टि, परमधाम र मुक्तिका विषयमा गहन विमर्श पाइन्छ।
यहाँ ज्ञान अनुभूतिमा रूपान्तरित हुनुपर्ने चेतना हो। शास्त्र पढ्नु एउटा कुरा हो। शास्त्रको सत्यलाई जीवनमा उतार्नु अर्को कुरा हो। शब्द जान्नु ज्ञानको आरम्भ हो। शब्दको मर्म बुझ्नु आत्मबोधको यात्रा हो।तारतम वाणीले मानिसलाई यही यात्रामा आमन्त्रण गर्छ। यसले बाहिरी संसारको विविधताभित्र रहेको आध्यात्मिक एकत्व खोज्न प्रेरित गर्छ।
निजानन्द दर्शनमा क्षर पुरुष, अक्षर पुरुष र पुरुषोत्तमको अवधारणा विशेष महत्त्वपूर्ण छ। यसले अस्तित्वका विभिन्न तहलाई बुझ्ने दार्शनिक आधार प्रदान गर्छ। क्षर परिवर्तनशील जगत्सँग सम्बन्धित छ। अक्षर तुलनात्मक रूपमा अविनाशी तत्त्वको संकेत हो। पुरुषोत्तम सर्वोच्च पूर्णब्रह्मको अभिव्यक्ति हो।
यस त्रैतत्त्वको चिन्तनले मानिसलाई दृश्य र अदृश्य अस्तित्वबीचको सम्बन्ध बुझ्न प्रेरित गर्छ। संसार परिवर्तनशील छ। शरीर परिवर्तनशील छ। विचार परिवर्तनशील छन्। सम्बन्ध परिवर्तनशील छन्। तर परिवर्तनको अनुभूति गर्ने चेतनाको प्रश्न अझ गहिरो छ।
के मानिस आफ्नो शरीर मात्र हो? के उसको परिचय नाम, पद, प्रतिष्ठा र सम्पत्तिमा सीमित छ? यदि यी सबै परिवर्तनशील छन् भने स्थायी पहिचान कहाँ छ? निजानन्द दर्शनले आत्माको वास्तविक स्वरूप पहिचान गर्ने दिशामा चिन्तन गर्न सिकाउँछ।
मानिसले आफ्नो बाह्य पहिचानलाई नै सम्पूर्ण अस्तित्व ठान्दा अहंकार जन्मन्छ। अहंकारबाट विभाजन उत्पन्न हुन्छ। विभाजनबाट द्वेष जन्मन्छ। द्वेषले संघर्ष निम्त्याउँछ। तर आत्मबोधले दृष्टिकोण बदल्छ। आफूभित्रको चेतना बुझ्ने मानिसले अरूको अस्तित्वलाई पनि सम्मान गर्न थाल्छ।
यही आत्मबोध सामाजिक सद्भावको आध्यात्मिक आधार बन्न सक्छ।निजानन्द दर्शनको केन्द्रमा प्रेम छ। तर यो सामान्य आकर्षण होइन। यो स्वार्थमा आधारित सम्बन्ध पनि होइन। यो आत्माको उदात्त अनुभूति हो। यसले प्राप्तिभन्दा समर्पणलाई महत्त्व दिन्छ। अधिकारभन्दा सम्मानलाई महत्त्व दिन्छ। अपेक्षाभन्दा आत्मीयतालाई महत्त्व दिन्छ।
‘प्रेम ब्रह्म दोऊ एक हैं’ भन्ने आध्यात्मिक उद्घोषले प्रेम र परम तत्त्वबीचको अभिन्न सम्बन्धलाई संकेत गर्छ। प्रेमलाई केवल भावनात्मक अनुभूतिमा सीमित गर्न सकिँदैन। यो जीवनदृष्टि हो। यो व्यवहारको शुद्धता हो। यो अरूको अस्तित्व स्वीकार गर्ने उदार चेतना हो।
जहाँ प्रेम हुन्छ, त्यहाँ घृणाले स्थायी स्थान पाउन सक्दैन। जहाँ करुणा हुन्छ, त्यहाँ क्रूरताको औचित्य समाप्त हुन्छ। जहाँ आत्मीयता हुन्छ, त्यहाँ विभाजनको पर्खाल कमजोर हुन्छ।
‘पंथ होवे कोटि कलप, प्रेम पोंहोंचावे मिने पलक’ भन्ने वाणीले प्रेमको आध्यात्मिक सामर्थ्यलाई अभिव्यक्त गर्छ। बाह्य मार्गको विविधता हुन सक्छ। साधनाका पद्धति फरक हुन सक्छन्। तर प्रेमले आत्मिक निकटता निर्माण गर्न सक्छ।
मानिसले धर्मको नाममा मानिसलाई विभाजित गर्नु कस्तो विडम्बना हो! ईश्वर खोज्ने बाटोमै मानिसले मानिसलाई अस्वीकार गर्नु कस्तो विरोधाभास हो! यदि धर्मले करुणा सिकाउँदैन भने त्यसको आत्मिक उद्देश्य अधुरो रहन्छ। यदि भक्तिले विनम्रता जन्माउँदैन भने त्यसको सार अनुभूत हुन सकेको छैन।साँचो प्रेमले मानिसलाई ठूलो बनाउँछ। तर अरूलाई सानो बनाएर होइन। अरूको दुःख बुझेर। अरूको अस्तित्व स्वीकार गरेर। अरूको सम्मान जोगाएर।
मानव सभ्यताको इतिहास विविध धार्मिक परम्पराले समृद्ध छ। हिन्दू, इस्लाम, बौद्ध, इसाई तथा अन्य आध्यात्मिक परम्पराले सत्यको खोजी गरेका छन्। तिनका भाषा फरक छन्। प्रतीक फरक छन्। साधना पद्धति फरक छन्। तर मानव जीवनको नैतिक उन्नति र परम सत्यको खोजी तिनका साझा चिन्तनका विषय हुन्।
श्री प्राणनाथजीको ‘सोई खुदा सोई ब्रह्म’ भन्ने भावले धार्मिक समन्वयको महत्त्वपूर्ण सन्देश दिन्छ। यसले परम सत्यलाई कुनै एउटा भाषिक वा सांस्कृतिक सीमाभित्र कैद गर्न मिल्दैन भन्ने आध्यात्मिक दृष्टि प्रस्तुत गर्छ।
के परम सत्य मानिसले निर्माण गरेको विभाजनमा बाँधिन सक्छ? के ईश्वरको अस्तित्वलाई मानवीय सम्प्रदायले सीमित गर्न सक्छ? के आस्थाको भिन्नताले मानवताको साझा आधार समाप्त गर्न सक्छ?यी प्रश्नले धार्मिक सहिष्णुताको गहिरो अर्थ बुझाउँछन्।
धर्मको उद्देश्य विभाजन होइन। आत्मिक उन्नति हो। धर्मको सार अरूलाई पराजित गर्नु होइन। आफ्नै अहंकारलाई पराजित गर्नु हो। धर्मको शक्ति बाह्य प्रदर्शनमा होइन। आन्तरिक शुद्धतामा हुन्छ।
निजानन्द दर्शनले धार्मिक विविधताभित्र आध्यात्मिक एकताको खोजी गर्छ। यसले भिन्नतालाई शत्रुता मान्दैन। यसले संवादलाई महत्त्व दिन्छ। यसले सहअस्तित्वलाई मानव सभ्यताको आधार मान्छ।
आध्यात्मिकता अभ्यास हो। यो निरन्तर आत्मनिरीक्षण हो। मनका विकार चिन्नु हो। इच्छालाई संयमित गर्नु हो। अहंकारलाई नियन्त्रण गर्नु हो।
धनी श्री देवचन्द्रजी महाराजको साधना परम्पराले ध्यान, स्वाध्याय, भक्ति र आत्मानुशासनको महत्त्वलाई उजागर गर्छ। तारतम ज्ञानको आध्यात्मिक परम्पराले मानिसलाई आत्मशुद्धितर्फ प्रेरित गर्छ।
अष्टप्रहर सेवा, पूजा र साधनाको अभ्यासले अनुयायीलाई आध्यात्मिक अनुशासनसँग जोड्छ। शाकाहार र अहिंसाले जीवप्रतिको संवेदनशीलता बढाउँछन्। ब्रह्मचर्यले संयमको महत्त्व सिकाउँछ। स्वाध्यायले ज्ञानप्रतिको अनुराग बढाउँछ।
तर के साधनाको सार बाह्य अनुष्ठानमा मात्र सीमित हुन सक्छ? के पूजा गरेर पनि मानिस कठोर रहन सक्छ? के व्रत बसेर पनि उसले अरूको अधिकार खोस्न सक्छ? के धर्मग्रन्थ पढेर पनि उसले अहंकार त्याग्न नसक्न सक्छ?यी प्रश्नले साधना र आचरणबीचको सम्बन्ध स्पष्ट गर्छन्।
साधनाको वास्तविक उपलब्धि व्यवहारमा देखिनुपर्छ। पूजा गर्ने हातले सेवा गर्न सक्नुपर्छ। मन्त्र जप्ने जिब्रोले सत्य बोल्न सक्नुपर्छ। ध्यान गर्ने मनले अरूको पीडा बुझ्न सक्नुपर्छ। आध्यात्मिक ज्ञानले मानिसलाई विनम्र बनाउनुपर्छ।आत्मशुद्धि भनेको आफूलाई अरूभन्दा श्रेष्ठ ठान्नु होइन। आफूभित्रका कमजोरी पहिचान गर्नु हो। आफूलाई सुधार्नु हो। आफ्नो आचरणलाई परिष्कृत गर्नु हो।आध्यात्मिक चेतना र सामाजिक न्यायबीच गहिरो सम्बन्ध छ। आफूभित्रको आत्मिक मूल्य बुझ्ने मानिसले अरूको गरिमालाई पनि सम्मान गर्छ। यही चेतना समानताको आधार बन्न सक्छ।
निजानन्द दर्शनको ‘सब जीव एक समान’ भन्ने भावले मानव मर्यादाको सार्वभौमिकतालाई महत्त्व दिन्छ। जात, वर्ण, वर्ग, लिंग, भाषा, क्षेत्र र सम्पत्तिका आधारमा मानिसको मूल्य निर्धारण गर्नु अनुचित हो। बाह्य पहिचानले आत्मिक गरिमा घटाउँदैन।
मानिसको वास्तविक उचाइ उसको पदमा हुँदैन। उसको चरित्रमा हुन्छ। उसको सम्पत्तिमा हुँदैन। उसको संवेदनशीलतामा हुन्छ। उसको जातीय पहिचानमा हुँदैन। उसको मानवीय आचरणमा हुन्छ।
समाजमा छुवाछुत, जातीय अहंकार र विभेद कायम रहनु चेतनाको कमजोरी हो। धार्मिक आस्थाको आवरणमा अन्यायलाई संरक्षण गर्नु आध्यात्मिकताको अपमान हो।
समानताको अर्थ केवल समानताको घोषणा होइन। व्यवहारमा समान सम्मान दिनु हो। अवसरमा न्याय सुनिश्चित गर्नु हो। कमजोरको आवाज सुन्नु हो। वञ्चितलाई अधिकार दिलाउनु हो।
निजानन्द दर्शनको सामाजिक सन्देश यही मानवीय रूपान्तरणसँग जोडिन्छ। आत्माको एकत्व बुझ्ने चेतनाले सामाजिक विभाजनलाई प्रश्न गर्नुपर्छ। आध्यात्मिकताको उपलब्धि सामाजिक संवेदनशीलतामा देखिनुपर्छ।
मानव सभ्यता आज अभूतपूर्व प्राविधिक विकासको चरणमा छ। तर मानिसको मनमा हिंसा, घृणा र असहिष्णुता अझै विद्यमान छन्। विज्ञानले दूरी घटाएको छ। तर मानिसबीचको भावनात्मक दूरी सधैँ घटेको छैन। सञ्चारले संसारलाई जोडेको छ। तर हृदयहरूबीचको संवाद कमजोर भएको छ।
यस्तो समयमा करुणाको महत्त्व अझ बढेको छ।करुणा अरूको पीडा महसुस गर्ने क्षमता हो। अहिंसा अरूको अस्तित्वलाई सम्मान गर्ने प्रतिबद्धता हो। प्रेम अरूको कल्याणमा आफ्नो आत्मिक आनन्द खोज्ने चेतना हो।यी तीन मूल्य एकअर्कासँग सम्बन्धित छन्। करुणाले संवेदना जन्माउँछ। संवेदनाले सहयोगको भावना विकास गर्छ। सहयोगले सामाजिक विश्वास निर्माण गर्छ।अहिंसा शारीरिक आक्रमण नगर्नु होइन। वाणीबाट अपमान नगर्नु पनि हो। विचारबाट घृणा नफैलाउनु पनि हो। व्यवहारबाट कसैको आत्मसम्मान नष्ट नगर्नु पनि हो।मानिसले अरूलाई पीडा दिँदा आफू पनि आध्यात्मिक रूपमा कमजोर हुन्छ। अरूको दुःख कम गर्दा आफ्नै चेतना विस्तार हुन्छ।
यही कारण सेवा आध्यात्मिकताको व्यावहारिक रूप हो। सेवा दया प्रदर्शन गर्ने माध्यम होइन। यो मानवीय उत्तरदायित्वको अभिव्यक्ति हो। यसले सेवक र सेवितबीचको अहंकारपूर्ण दूरी घटाउँछ।निजानन्द परम्परामा सुन्दरसाथको अवधारणा विशेष अर्थपूर्ण छ। यो केवल अनुयायीहरूको समूह होइन। यो साझा आध्यात्मिक यात्राको सामूहिक परिचय हो।सामूहिक साधनाले व्यक्तिलाई एक्लोपनबाट मुक्त गर्छ। साझा स्वाध्यायले ज्ञानको आदानप्रदान गर्छ। सत्सङ्गले विचारलाई परिष्कृत गर्छ। सेवाले सामाजिक सम्बन्धलाई बलियो बनाउँछ।
तर सामूहिकता केवल संख्याको शक्ति होइन। यो साझा मूल्यको शक्ति हो। कुनै समूहको वास्तविक महानता त्यसको बाह्य विस्तारमा मात्र हुँदैन। त्यसको आचरणमा हुन्छ। त्यसको सहिष्णुतामा हुन्छ। त्यसको सेवाभावमा हुन्छ।
गुरु र शिष्यबीचको सम्बन्ध पनि केवल औपचारिक अनुशासन होइन। यो ज्ञान, विश्वास र आत्मिक मार्गदर्शनको सम्बन्ध हो। गुरुको महत्त्व शिष्यलाई निर्भर बनाउनुमा होइन। उसलाई सत्यको खोजीमा सक्षम बनाउनुमा हुन्छ।
साँचो आध्यात्मिक नेतृत्वले अनुयायीमा विवेक जगाउँछ। प्रश्न गर्ने साहस दिन्छ। आत्मनिर्भर चेतना विकास गर्छ। विनम्रता सिकाउँछ।
आजको विश्व अनेक सङ्कटबाट गुज्रिरहेको छ। युद्ध बढिरहेका छन्। आर्थिक असमानता गहिरिँदै छ। जलवायु परिवर्तनले मानव अस्तित्वलाई चुनौती दिइरहेको छ। प्रविधिको विकाससँगै नैतिक प्रश्न जटिल बन्दै छन्। सामाजिक सञ्जालले अभिव्यक्तिको अवसर दिएको छ। तर घृणा र भ्रमको प्रसार पनि बढाएको छ।
मानिससँग सूचना धेरै छ। तर विवेक सधैँ पर्याप्त छैन। ज्ञानको पहुँच बढेको छ। तर आत्मज्ञानको खोजी कमजोर हुन सक्छ। भौतिक सुविधा बढेको छ। तर मानसिक शान्ति सुनिश्चित भएको छैन।
यस्तो समयमा निजानन्द दर्शनको आध्यात्मिक सन्देशलाई नयाँ सन्दर्भमा बुझ्न आवश्यक छ।यसले उपभोगभन्दा संयम सिकाउँछ। प्रतिस्पर्धाभन्दा सहकार्य सिकाउँछ। अहंकारभन्दा विनम्रता सिकाउँछ। हिंसाभन्दा करुणा सिकाउँछ। विभाजनभन्दा एकता सिकाउँछ।
आधुनिक विकासको वास्तविक मापन केवल उत्पादन र आयमा सीमित हुनु हुँदैन। त्यसले मानव गरिमा, सामाजिक न्याय र वातावरणीय सन्तुलनलाई पनि समेट्नुपर्छ।आर्थिक समृद्धि आवश्यक छ। तर नैतिकता नभएको समृद्धि अस्थिर हुन्छ। प्रविधि आवश्यक छ। तर मानवीय संवेदना नभएको प्रविधि जोखिमपूर्ण हुन्छ। शक्ति आवश्यक छ। तर विवेकविहीन शक्ति विनाशकारी हुन्छ।
निजानन्द दर्शनले विकासलाई मानवीय चेतनासँग जोड्ने प्रेरणा दिन्छ। यसको सामाजिक सान्दर्भिकता यहीँ छ।मानिसले पहिले आफूलाई चिन्नुपर्छ। आफ्नो मनका इच्छा बुझ्नुपर्छ। आफ्नो अहंकार पहिचान गर्नुपर्छ। आफ्नो कमजोरी स्वीकार गर्नुपर्छ। त्यसपछि मात्र ऊ अरूलाई सही अर्थमा बुझ्न सक्छ।आत्मबोधबाट आत्मसंयम जन्मन्छ। आत्मसंयमबाट नैतिकता विकसित हुन्छ। नैतिकताबाट सामाजिक विश्वास निर्माण हुन्छ। सामाजिक विश्वासबाट सहकार्य सम्भव हुन्छ। सहकार्यबाट समुन्नत समाजको आधार तयार हुन्छ।यो रूपान्तरणको क्रम हो।
निजानन्द दर्शनको आध्यात्मिकता व्यक्तिलाई संसारबाट पलायन गराउने दर्शनका रूपमा बुझिनु हुँदैन। यसको मर्मलाई दैनिक जीवनको नैतिकता र सामाजिक उत्तरदायित्वसँग जोडेर बुझ्नुपर्छ। परिवारमा प्रेम। समाजमा समानता। व्यवहारमा सत्य। सम्बन्धमा करुणा। सार्वजनिक जीवनमा इमानदारी। यी सबै आध्यात्मिक चेतनाका व्यावहारिक अभिव्यक्ति हुन्।
आध्यात्मिक मानिस समाजप्रति उदासीन हुन सक्दैन। उसले अन्याय देखेर मौन बस्नु हुँदैन। उसले कमजोरको पीडा बेवास्ता गर्नु हुँदैन। उसले सार्वजनिक सम्पत्तिलाई निजी स्वार्थको साधन बनाउनु हुँदैन। उसले आफ्नो पद र शक्तिलाई सेवाको माध्यम बनाउनुपर्छ।
आत्मज्ञानले उत्तरदायित्वबाट विमुख बनाउँदैन। बरु उत्तरदायित्वको गहिरो बोध गराउँछ। मानिसले के प्राप्त गर्न खोजिरहेको छ? धन? प्रतिष्ठा? पद? शक्ति? प्रशंसा? यी सबैको आफ्नै महत्त्व छ। तर के यिनले स्थायी आनन्द दिन सक्छन्?मानिसले जीवनभर बाहिर खोजेको आनन्द कतै आफ्नै चेतनाभित्र लुकेको त छैन? उसले संसारसँग मागिरहेको शान्ति आफ्नै मनको शुद्धताबाट सम्भव हुने त होइन? उसले अरूबाट अपेक्षा गरिरहेको प्रेम आफैँबाट आरम्भ गर्नुपर्ने त होइन?निजानन्द दर्शनले यस्तै आत्मिक प्रश्नको सामना गर्न प्रेरित गर्छ।
यो दर्शन आत्मालाई परम चेतनासँगको सम्बन्धमा बुझ्ने मार्ग हो। यो प्रेमलाई ब्रह्मको अनुभूतिसँग जोड्ने दृष्टि हो। यो धर्मलाई मानवतासँग जोड्ने चिन्तन हो। यो भक्तिलाई आचरणसँग जोड्ने साधना हो।
यसले मानिसलाई आफ्नो अन्तरात्मामा फर्काउँछ। मौन हुन सिकाउँछ। विचार गर्न सिकाउँछ। आफूलाई चिन्न सिकाउँछ। आफ्नो अस्तित्वको सीमाभन्दा पर रहेको आध्यात्मिक सम्भावना अनुभव गर्न प्रेरित गर्छ।संसार बदल्नुअघि आफू बदलिनुपर्छ। समाज सुधार्नुअघि आफ्नो आचरण सुधार्नुपर्छ। शान्तिको उपदेश दिनुअघि आफ्नै मन शान्त बनाउनुपर्छ। प्रेमको कुरा गर्नुअघि घृणाको जरा उखेल्नुपर्छ।यही आत्मपरिवर्तनको पहिलो सर्त हो।
निजानन्दको आनन्द बाहिरी संसारले प्रदान गर्ने क्षणिक सुख होइन। यो आत्मिक चेतनाको गहिराइमा खोजिने अनुभूति हो। यसको यात्रा अन्तर्मनबाट आरम्भ हुन्छ। तर यसको प्रभाव परिवार, समाज र समग्र मानवतासम्म पुग्नुपर्छ।
जब आत्मामा प्रेम जाग्छ, व्यवहारमा करुणा प्रकट हुन्छ। जब चेतनामा समता विकसित हुन्छ, समाजमा न्यायको सम्भावना बढ्छ। जब धर्ममा उदारता हुन्छ, मानवतामा एकता स्थापित हुन्छ। जब ज्ञानमा विनम्रता हुन्छ, जीवनमा विवेक जन्मन्छ।सायद यही निजानन्द दर्शनको सबैभन्दा सुन्दर सन्देश हो।
आत्मा र परमात्माबीचको सम्बन्ध केवल दार्शनिक बहसको विषय होइन। यो प्रेम, विश्वास र अनुभूतिको यात्रा हो। यस यात्रामा मानिसले आफूलाई मात्र होइन, समग्र अस्तित्वलाई नयाँ दृष्टिले हेर्न सिक्छ।मानव जीवनको सर्वोच्च उपलब्धि अरूभन्दा ठूलो देखिनु होइन। आफूभित्रको अज्ञानता सानो बनाउनु हो। अरूलाई जित्नु होइन। आफ्नै अहंकार जित्नु हो। संसारमाथि अधिकार जमाउनु होइन। संसारप्रति उत्तरदायी बन्नु हो।निजानन्द दर्शनको आलोकमा यही आत्मबोध सामाजिक चेतनामा रूपान्तरित हुन्छ। यही चेतना नैतिक आचरणमा अभिव्यक्त हुन्छ। यही आचरणले न्यायपूर्ण समाज निर्माणको आधार दिन्छ।
आत्मामा आनन्द। हृदयमा प्रेम। व्यवहारमा करुणा। समाजमा समानता। जीवनमा सत्य। यही निजानन्दको आध्यात्मिक सन्देश हो।
यही सन्देशमा मानवताको भविष्य खोज्न सकिन्छ। यही चेतनामा सामाजिक रूपान्तरणको सम्भावना निहित छ। र यही आत्मिक यात्रामा मानिसले आफ्नो अस्तित्वको वास्तविक अर्थ भेट्टाउन सक्छ।

