काठमाडौं, भदौ १६ — रसुवाका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित भई काठमाडौंको स्वयम्भूस्थित पहेंलो गुम्बामा आश्रय लिएर बसेका करिब १५० जना बाढीपीडितलाई अखिल नेपाल महिला संगठन केन्द्रीय समितिको पहलमा राहत सामग्री वितरण गरिएको छ।
भदौ १५ गते आयोजित कार्यक्रममा संगठनको पहल तथा रोटरी क्लबको सहयोगमा बाढीपीडितलाई खाद्यान्नलगायत आवश्यक राहत सामग्री वितरण गरिएको हो।
रसुवामा आएको बाढी तथा पहिरोका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएपछि विभिन्न स्थानबाट विस्थापित भएका नागरिकहरू पहेंलो गुम्बामा आश्रय लिएर बसिरहेका छन्। विपद्को कठिन अवस्थामा रहेका पीडित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री उपलब्ध गराइएको संगठनले जनाएको छ।
राहत वितरण कार्यक्रममा अखिल नेपाल महिला संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विपद्का कारण विस्थापित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राज्य तथा सामाजिक संघसंस्थाले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइएको थियो।
बाढीपहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न, स्वास्थ्य सेवा, सुरक्षित आवास तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै संगठनले आगामी दिनमा समेत पीडित नागरिकका पक्षमा सहयोग तथा समन्वय जारी राख्ने जनाएको छ।
रोटरी क्लबको सहयोग र अखिल नेपाल महिला संगठनको पहलमा गरिएको राहत वितरणले विपद्का कारण अस्थायी आश्रयमा रहेका रसुवाका बाढीपीडितलाई तत्काल राहत पुगेको छ।

