काठमाडौं, असोज २८।
सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीलाई बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले बैंकको हाल कायम साधारण शेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशतका दरले एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।
त्यसैगरी, १० प्रतिशतका दरले एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ। उक्त नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनसमेत समावेश गरिएको बैंकले जनाएको छ।
यसैगरी, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई बैंकको तीन अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको ८.२५ प्रतिशतका दरले हुने लाभांश रकम १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ। उक्त लाभांश शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा वितरण गरिनेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा स्वपुँजीमा भएको परिवर्तनसम्बन्धी विवरण पनि पारित गरेको छ।

