काठमाडौं ।
वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत अधिकतम ब्याजदर घटेको छ। असोजको तुलनामा कात्तिकमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४.०१३ प्रतिशतमा झरेको छ भने संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर ३.००३ प्रतिशतमा कायम भएको छ।
२० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर असोजमा ४.०८९५ प्रतिशत रहेकोमा कात्तिकमा घटेर ४.०१३ प्रतिशतमा सीमित भएको हो। त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर असोजको ३.०६६५ प्रतिशतबाट घटेर ३.००३ प्रतिशतमा झरेको छ।
कात्तिक महिनामा व्यक्तिगत निक्षेपको ब्याजदर सबैभन्दा धेरै घटाउने बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.८ प्रतिशतविन्दुले घटाएर ३.७ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ०.५ प्रतिशतविन्दुले घटाएर तीन प्रतिशतमा झारेको छ।
त्यस्तै, नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। बैंकले संस्थागत निक्षेपको ब्याजदरसमेत ०.२६ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशतमा सीमित गरेको छ।
प्रभु बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ। नेपाल एसबीआई बैंकले पनि ०.१ प्रतिशतविन्दुले घटाएर चार प्रतिशतमा झारेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले क्रमशः ०.०५ र ०.०३ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। दुवै बैंकको व्यक्तिगत निक्षेपको नयाँ ब्याजदर ३.७ प्रतिशत रहेको छ।
कात्तिकमा सानिमा, एनएमबी र माछापुच्छ्रे बैंक व्यक्तिगत निक्षेपमा तुलनात्मक रूपमा उच्च ब्याजदर प्रदान गर्ने बैंकमध्ये रहेका छन्। अधिकांश बैंकले ब्याजदर घटाएको अवस्थामा एभरेष्ट बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदा बचतकर्ताले प्राप्त गर्ने ब्याज आम्दानीमा असर पर्न सक्छ। यद्यपि, वास्तविक ब्याज आम्दानी निक्षेपको प्रकार, रकम, अवधि र सम्बन्धित बैंकको लागू ब्याजदरअनुसार फरक पर्न सक्छ।

