काठमाडौं, असार २३ –
प्रभु बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जंग कार्कीले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन्। बालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा आयोजित एक विशेष कार्यक्रममा गभर्नर डा. विश्वनाथ पौडेलले कार्कीलाई सपथ गराएका हुन्।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगाना र बम बहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका दीर्घ रावल, प्रभु बैंकका सञ्चालकगण तथा प्रमुख कार्यकारी अधिकृतसहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका अध्यक्ष कार्कीको तीन दशकभन्दा लामो सरकारी सेवा अनुभव रहँदै आएको छ। उनले लोकसेवा आयोग, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सामान्य प्रशासन मन्त्रालयमा सहसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए।
त्यसैगरी निजामती किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकका रूपमा सेवा पुर्याएका कार्कीले नेपाल टेलिकम, मेलेम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद लगायत विभिन्न संस्थाहरूमा सञ्जाल समितिमा सदस्यका रूपमा समेत योगदान दिएका थिए।
३८ वर्षभन्दा बढीको सेवा अवधिमा विभिन्न आयोग, मन्त्रालय, विभाग तथा निकायको सफल नेतृत्व सम्हालिसकेका कार्कीको अनुभव र नेतृत्वले प्रभु बैंकलाई व्यवसाय विस्तार र प्रविधिमैत्री सेवा विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, अध्यक्ष कार्कीको नियुक्तिले संस्थागत सुदृढीकरण, गुणस्तरीय सेवा तथा प्रतिस्पर्धी बैंकिङ प्रणाली विकासमा थप मद्दत पुग्ने आशा गरिएको छ।

