कास्की । पोखरा महानगरपालिका–३३ स्थित २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको छ।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना विसं २०७८ मङ्सिरमा निर्माण सुरु गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिए।
उनका अनुसार आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनुका साथै आयोजना र जडान गरिएका उपकरणको प्राविधिक परीक्षणसमेत गरिनेछ। परीक्षण सफल भएपछि नियमित व्यावसायिक उत्पादन सुरु गरिनेछ।
आयोजनाले गत मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखे पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा निर्माण सम्पन्न हुन समय लागेको निर्देशक बरालले बताए। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृति प्राप्त गर्न ढिलाइ भएको उनको भनाइ छ।
आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्गमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइएको छ। विद्युत्गृहमा ११/११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएका छन्।
करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लगानीमा निर्माण भएको यो आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।
सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। हाल सेती नदी क्षेत्रमा आधा दर्जनभन्दा बढी आयोजना प्रारम्भिक तथा निर्माणको चरणमा रहेका छन्।

