काठमाडौँ । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने तयारीस्वरूप दुई दिन सेवा बन्द गर्ने जनाएको छ।
विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले असार २५ र भोलि असार २६ गते (जुलाई ९ र १०)बिहिबार र शुक्रबार दुई दिन राहदानीसम्बन्धी सबै सेवा बन्द रहनेछ ।
यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन राहदानी सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।
यद्यपि, नयाँ राहदानी जारीलगायतका सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ।
मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी सङ्कलन गर्न सक्ने विभागको सूचनामा उल्लेख छ।

