काठमाडौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा केयूकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित बागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिएका हुन्।
कार्यकारी निर्देशक साहकाअनुसार मेलम्चीबाट दैनिक प्राप्त हुने १८ देखि २० करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयूकेएलले वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा शिवपुरीस्थित बागमतीको पानी ल्याउने ५–६ वर्ष पुरानो योजनालाई तिब्रता दिएको छ।

