काठमाडौं। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा बुधबार फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी बिहान करिब ११ः४५ बजे अनियन्त्रित भई पल्टिएको हो। गाडीमा चालकसहित २० जना सवार थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक श्याम थापाको नेतृत्वमा ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाएको जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

