काठमाडौँ ।
चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको छ।
बाढीपछि त्रिशूली नदीमा आएको तीव्र बहावका कारण नदी तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। बाढी र पहिरोका कारण ठूलो संख्यामा नागरिक प्रभावित तथा जोखिममा परेका छन्।
प्रहरीका अनुसार चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै ५२ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म १०६ जनाको शव फेला परेको छ।
यस्तै, गण्डकी प्रदेशअन्तर्गत पर्ने गोरखा र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्रमा समेत शव फेला परेका छन्। ती शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित तथा जोखिममा रहेका नागरिकको संख्या अत्यधिक रहेकाले उद्धार कार्यलाई तीव्रता दिइएको छ। प्रभावित क्षेत्रमा बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत हवाई उद्धार समेत सुरु गरिने भएको छ।
सरकार, सुरक्षा निकाय तथा स्थानीय तहले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राखेका छन्।
प्राकृतिक विपत्तिका कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको आवश्यकता देखिएको छ।

