काठमाडौं ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनाल आज आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। खनालको नेतृत्वमा नेपाली टोली महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागी हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन्। महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि सुरु हुँदैछ।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अर्थात् सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत वरिष्ठ अधिकारी सहभागी हुनेछन्। प्रतिनिधिमण्डलमा कुल १४ जना रहने जनाइएको छ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बर २६ मा सकिनेछ भने परराष्ट्रमन्त्री खनाल त्यसको तीन दिनपछि स्वदेश फर्किने कार्यक्रम छ।

