काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परे । व्यवसायी दीपक भट्टसमेत प्रतिवादी रहेको बीमा तथा धितोपत्रसम्बन्धी मुद्दामा फरार रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार काठमाडौं महानगरपालिका–७ का स्थायी बासिन्दा रिमालविरुद्ध बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा यसअघि नै मुद्दा दायर भइसकेको थियो। सोही मुद्दामा उनी फरार रहेकाले पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
पक्राउपछि रिमाललाई थुनछेक प्रयोजनका लागि बिहीबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। बिहिबार थुनछेक बहस पूरा नभएपछि अब अदालतबाट आदेश आउने प्रक्रिया अघि बढ्नेछ।
रिमालविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि विशेष अदालतमा छुट्टै मुद्दा दर्ता छ। जिल्ला अदालतबाट थुनछेक आदेश आएपछि उक्त मुद्दामा पनि उनलाई विशेष अदालतमा उपस्थित गराइने बताइएको छ।
यसअघि व्यवसायी दीपक भट्टसहित अन्य व्यक्तिविरुद्ध पनि बीमा ऐन र धितोपत्र ऐनअन्तर्गत मुद्दा दायर भइसकेको छ। सोही प्रकरणमा रिमालको संलग्नता देखिएपछि सीआईबीले उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको हो।

