काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले नेपाल महिला संघकी संस्थापक अध्यक्ष एवं नेपाली लोकतान्त्रिक आन्दोलनकी स्तम्भ मंगलादेवी सिंहको योगदान सदैव स्मरणीय रहेको बताएकी छन्।
मंगलादेवी सिंहको ३०औँ स्मृति दिवसका अवसरमा टपटेन खबरका प्रतिनिधिसँग कुरा गर्दै डा. संग्रौलाले महिला अधिकार, सामाजिक न्याय र लोकतन्त्र स्थापनाका लागि सिंहले खेलेको ऐतिहासिक तथा बलिदानी भूमिका अविस्मरणीय रहेको बताइन्।
उनले निरङ्कुशताविरुद्धको संघर्षमा मंगलादेवी सिंहको निडर र साहसी नेतृत्व महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले अघि सारेको महिला जागरणको अभियानकै कारण नेपाली महिलाहरू राजनीतिक, सामाजिक तथा संवैधानिक रूपमा अधिकारसम्पन्न हुने दिशामा अगाडि बढेको धारणा व्यक्त गरिन्।
“मंगलादेवी सिंहले देखाउनुभएको निष्ठा, साहस र आदर्शलाई आत्मसात् गर्दै महिला सशक्तीकरण, समतामूलक समाज निर्माण र लोकतन्त्रको सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु,” डा. संग्रौलाले भनिन्।
उनले सिंहको योगदानलाई नयाँ पुस्ताले समेत आत्मसात् गर्नुपर्नेमा जोड दिँदै स्मृति दिवसका अवसरमा स्वर्गीय मंगलादेवी सिंहप्रति पुनः भावपूर्ण श्रद्धासुमन अर्पण गरिन्।

