काठमाडौं । सरकारले देशका छ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त गरेको छ। सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्।
नियुक्त हुनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र रहेका छन्।
उपकुलपति छनोटका लागि सरकारले गठन गरेको छनोट तथा सिफारिस समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको थियो।
समितिले जेठ ४ गते आवेदन आह्वान गरेको थियो भने सो पदका लागि ११३ जनाको आवेदन परेको थियो। तीमध्येबाट आवेदन मूल्यांकन गरी प्रत्येक प्रतिष्ठानका लागि सात जनाका दरले ४२ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। त्यसपछि अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा अन्तिम सिफारिस गरिएकामध्ये प्रधानमन्त्री शाहले छ प्रतिष्ठानका उपकुलपति नियुक्त गरेका हुन्।

