काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले मुगु घर भई काठमाडौंमा पठाओ चलाएर जीविकोपार्जन गरिरहेका गणेश नेपाली (विक)ले आत्मदाहको प्रयास गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई राज्य संयन्त्र र समाजका लागि गम्भीर चेतावनीको रूपमा लिन आग्रह गरेकी छन्।
उनले एक नागरिक निराशाको चरम अवस्थामा पुगेर आत्मदाहको प्रयास गर्न बाध्य हुनु अत्यन्तै दुःखद र मर्माहत बनाउने घटना भएको बताएकी छन्। गणेशलाई यस्तो कठोर कदम चाल्न बाध्य पार्ने कारणहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकारसँग उनले माग गरेकी छन्।
संग्रौलाका अनुसार महानगर प्रहरीले मोटरसाइकल केहीबेर सडक किनारमा राखेको भन्दै चिट काटेपछि त्यसलाई अन्याय ठानी गणेशले आत्मदाहको प्रयास गरेका हुन्। उनले नागरिकको जीवन रक्षा र न्याय सुनिश्चित गर्न राज्य अझ जिम्मेवार, संवेदनशील र उत्तरदायी बन्नुपर्नेमा जोड दिएकी छन्।
“अन्यायको अनुभूतिले नागरिक आत्मघाती कदम चाल्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक समाजका लागि गम्भीर चिन्ताको विषय हो,” उनले भनिन्। यस्ता घटनाले समाजमा थप निराशा, असुरक्षा र चुनौती बढाउने भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने उनको भनाइ छ।
डा. संग्रौलाले गणेश नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता दुःखद घटनाहरू भविष्यमा दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

