काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने प्रतिष्ठित ‘बेष्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ। बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड जित्न सफल भएको हो। यसअघि सन् २०२४ र २०२५ मा पनि बैंकले सोही अवार्ड प्राप्त गरेको थियो।
थाइल्याण्डको बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, डिजिटल पहुँच, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग र दिगो कर्जा प्रवाहलगायतका सूचकका आधारमा बैंकलाई अवार्ड प्रदान गरिएको जनाइएको छ।
ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक’ अवार्ड प्राप्त गर्ने ग्लोबल आइएमई पहिलो नेपाली बैंक भएको बैंकले जनाएको छ। यसअघि बैंकले ‘बैंक अफ द इयर २०१४’ र ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।
अवार्ड प्राप्त गरेपछि बैंकले यस उपलब्धिका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।

