तोमनाथ उप्रेती
हरेक यात्रा कुनै गन्तव्यबाट सुरु हुँदैन। त्यो सुरु हुन्छ मनभित्र उठेको एउटा मौन प्रश्नबाट। किन हिँड्ने? किन नयाँ ठाउँ हेर्ने? किन हजारौँ किलोमिटर टाढा पुगेर फेरि आफ्नै आत्मालाई खोज्ने? सायद यात्रा संसार हेर्नका लागि होइन, आफूलाई पढ्नका लागि हो। संसार त एउटा विशाल पुस्तक हो। हामी प्रायः एउटै पृष्ठमा धेरै वर्ष अड्किरहन्छौँ। एक दिन मनले अर्को पृष्ठ पल्टाउन खोज्छ। त्यही क्षण यात्राको जन्म हुन्छ।
मेरो यात्रा पनि त्यस्तै एउटा मौन आकाङ्क्षाबाट सुरु भएको थियो। गन्तव्य थियो श्रीलङ्काको कान्डी। एउटा शहर, जसले इतिहास बोकेको छ। एउटा उपत्यका, जहाँ पहाडहरूले संस्कृति जोगाएका छन्। एउटा पवित्र भूमि, जहाँ बुद्धको दन्तधातु शताब्दीयौँदेखि श्रद्धाको केन्द्र बनेर उज्यालो छर्दै आएको छ। केही शहरहरू नक्सामा मात्र हुँदैनन्। तिनीहरू चेतनामा बस्छन्। कान्डी त्यस्तै एउटा चेतनाको शहर हो।
काठमाडौंबाट प्रस्थान गर्ने बिहान केही फरक थियो। आकाश निर्मल थियो। स्वयम्भूको डाँडामाथि पहिलो सूर्यकिरण विस्तारै फैलिरहेको थियो। शिवपुरीका पहाड सुनौलिँदै थिए। नागार्जुनको वन निद्राबाट बिस्तारै ब्युँझँदै थियो। बागमती आफ्नै पुरानो कथा बोकेर मौन बगिरहेकी थिई। शहर भने पहिलेझैँ व्यस्त थियो। कसैले कार्यालय समाउँदै थियो। कसैले विद्यालय। कसैले पसल। कसैले जीवनसँगको अर्को संघर्ष।
यात्रुले संसारलाई फरक आँखाले हेर्छ। उसका लागि प्रत्येक दृश्य अन्तिम पनि हुन सक्छ। पहिलो पनि। त्यसैले यात्रु विदाइलाई पनि दर्शनझैँ स्वीकार गर्छ। किनकि ऊ जान्दछ—जीवनमा कुनै भेट स्थायी हुँदैन। कुनै बिछोड अन्तिम हुँदैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा अनेक अनुहार देखिए। कसैको आँखामा उत्साह थियो। कसैको आँखामा बिछोड। कसैको हातमा फूल थियो। कसैको हातमा केवल मौनता। विमानस्थलहरू अनौठा हुन्छन्। त्यहाँ आँसु पनि उड्छन्। सपना पनि उड्छन्। आशा पनि उड्छन्। मानिस पनि।
हामी सबै यात्रु हौँ। केवल यात्राका साधन फरक हुन्। कसैले रेल समाउँछ। कसैले जहाज। कसैले जीवनभर एउटै गाउँमा बसेर पनि समयको विशाल यात्रा गरिसकेको हुन्छ। यात्राले एउटा सत्य सिकाउँछ। भूगोल बदल्नु सजिलो छ। मन बदल्नु कठिन। तर परिवर्तनको वास्तविक यात्रा मनमै सुरु हुन्छ।
बोर्डिङको घोषणा भयो। विमानतर्फ पाइला बढाउँदा पछाडि फर्केर काठमाडौंलाई अन्तिमपटक हेरेँ। यो शहर सभ्यताको जीवित अभिलेख हो। प्रत्येक गल्लीमा इतिहास छ। प्रत्येक मन्दिरमा स्मृति। प्रत्येक ढुङ्गामा समयको स्पर्श।
काठमाडौं उपत्यकाले हजारौँ वर्षदेखि असंख्य पाइला सुन्दै आएको छ। लिच्छवि आए। मल्ल आए। शाह आए। राणा आए। लोकतन्त्र आयो। गणतन्त्र आयो। शासन बदलियो। युग बदलियो। तर उपत्यकाले सबैलाई एउटै धैर्यले हेरिरही। शहरहरू मानिसभन्दा धैर्यवान् हुन्छन्। किनकि तिनीहरूले समयसँग युद्ध गर्दैनन्। मित्रता गर्छन्।
विमानले धावनमार्ग छोड्यो। पृथ्वी विस्तारै तल झर्न थाली। घरहरू खेलौनाजस्ता देखिन थाले। सडकहरू धागाजस्ता भए। बागमती एउटा सानो रेखामा सीमित भइन्। हिमालय भने झन् विशाल देखिन थाल्यो। सगरमाथा प्रत्यक्ष नदेखिए पनि हिमशृङ्खलाहरू आकाशसँग मौन संवाद गरिरहेका थिए।
हिमालहरू पृथ्वीका ऋषि हुन्। उनीहरू बोल्दैनन्। तर धेरै सिकाउँछन्। उचाइ सिकाउँछन्। स्थिरता सिकाउँछन्। धैर्य सिकाउँछन्। अनि सबैभन्दा ठूलो कुरा मौनताको गरिमा सिकाउँछन्। जति अग्लो शिखर हुन्छ, उति कम शब्द बोल्छ।
केहीबेरपछि विमान बादलभित्र प्रवेश गर्यो। झ्यालबाहिर केही देखिएन। केवल असीमित सेतो विस्तार। त्यस क्षण एउटा सत्य मनमा आयो। जीवनमा पनि यस्तै हुन्छ। कहिलेकाहीँ दृष्टि कुहिरोले ढाकिन्छ। हामी बाटो हराएको ठान्छौँ। तर बाटो हराएको हुँदैन। दृष्टि मात्र अस्थायी रूपमा ओझेल परेको हुन्छ। धैर्यले प्रतीक्षा गर्न जान्यो भने उज्यालो आफैँ देखा पर्छ।
केही मिनेटपछि विमान बादलमाथि निस्कियो। अचानक उज्यालो फैलियो। तल बादलको अथाह समुद्र थियो। माथि नीलो आकाश। त्यो दृश्य शब्दभन्दा ठूलो थियो। त्यस क्षण लाग्यो मानिसले पृथ्वीमा धेरै सीमारेखा कोरेको छ। देश। राज्य। सीमा। तर आकाशमा कुनै सीमा छैन। बादलले कहिल्यै राहदानी बोक्दैन। हावाले कहिल्यै भिसा माग्दैन। सूर्यले कहिल्यै राष्ट्रियता सोध्दैन। प्रकृतिले मानिसलाई विभाजन गर्दैन। मानिसले मात्र प्रकृतिलाई विभाजन गर्छ।
विमान दक्षिणतर्फ उडिरहेको थियो। हिमालहरू विस्तारै पछाडि छुट्दै गए। समथर भूभाग देखा पर्यो। नदीहरू चाँदीका धागाजस्ता चम्किरहेका थिए। हरिया खेतहरू पृथ्वीका प्रार्थनापत्रजस्ता फैलिएका थिए। त्यसपछि पहिलोपटक हिन्द महासागरको अथाह नीलोपन आँखामा भरियो। मन केही क्षण निश्चल भयो।
पृथ्वीको अधिकांश भाग पानीले ढाकिएको छ। तर मानिसको अधिकांश संघर्ष जमिनका लागि हुन्छ। समुद्रले कहिल्यै आफ्नो विशालता देखाएर अहङ्कार गर्दैन। त्यसैले ऊ सधैँ विशाल रहन्छ। विनम्रता नै महानताको सबैभन्दा सुन्दर रूप हो।
आकाशबाट हेर्दा समुद्र एउटै रङको देखिन्थ्यो। तर त्यसको गर्भमा असंख्य जीव थिए। हजारौँ रहस्य थिए। अनगिन्ती इतिहास थिए। मानिस पनि त्यस्तै हो। बाहिर एउटै अनुहार। भित्र असंख्य संसार। बाहिर मौन। भित्र तरङ्ग।
केही समयपछि विमान श्रीलङ्काको आकाशमा प्रवेश गर्यो। हरियाली बाक्लिँदै गइन्। समुद्र नजिकिँदै गयो। बादलहरू फेरि तल झर्न थाले। झ्यालबाट एउटा हरियो टापु स्पष्ट देखिन थाल्यो। चारैतिर अथाह पानी। बीचमा हरियालीले भरिएको भूमि। त्यो दृश्य कुनै चित्रकारको उत्कृष्ट क्यानभासजस्तो लाग्यो।
श्रीलङ्का बौद्ध सभ्यताको उज्यालो अध्याय हो। उपनिवेशवादसँग दीर्घ संघर्ष गरेको स्वाभिमानी इतिहास हो। प्रकृतिले करुणापूर्वक सजाएको एउटा जीवित उद्यान हो।
विमान विस्तारै अवतरणका लागि तल झर्दै थियो। मनमा एउटा अनौठो अनुभूति जाग्यो। म नेपाल छोड्दै थिएँ। तर बुद्धको अर्को भूमितर्फ जाँदै थिएँ। भूगोल फेरिएको थियो। तर करुणाको मार्ग उही थियो। किनकि बुद्ध कुनै एक राष्ट्रका होइनन्। उहाँ सम्पूर्ण मानवताका हुन्। उहाँको प्रकाश सीमाले रोक्न सक्दैन। उहाँको करुणाले जात, भाषा र भूगोलभन्दा धेरै माथि उठेर मानिसलाई मानिससँग जोड्छ।
यात्राको पहिलो अध्याय यहीँ समाप्त भयो। तर यात्रा समाप्त भएको थिएन। अब अर्को संसार ढोका खोल्दै थियो। कोलम्बो प्रतीक्षामा थियो। त्यसपछि पहाडहरूको काखमा बसेको कान्डी। एउटा शहर, जहाँ इतिहास अझै निदाएको छैन। जहाँ आस्थाले समयलाई जितेको छ। जहाँ प्रत्येक घण्टीको ध्वनिमा करुणाको प्रतिध्वनि गुञ्जिरहन्छ। र जहाँ पुगेर मैले बुझ्ने थिएँ।मानिसको सबैभन्दा लामो यात्रा कुनै देशसम्म पुग्ने यात्रा होइन, आफ्नै अन्तःकरणसम्म पुग्ने यात्रा हो।
विमानले विस्तारै कोलम्बोको भूमिलाई स्पर्श गर्यो। चक्का धावनमार्गमा दौडियो। एक क्षणका लागि सबै यात्रु मौन भए। हरेक अवतरण एउटा नयाँ अध्यायको उद्घाटन हो। हरेक नयाँ भूमिले यात्रुलाई नयाँ प्रश्न सोध्छ।
बान्दारानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कँदा पहिलो अनुभूति गर्मीको थियो। त्यो नेपालको चिसो बिहानभन्दा बिल्कुल फरक थियो। हावामा समुद्रको नुन मिसिएको थियो। वर्षाले धुइएको माटोको सुगन्ध थियो। वरिपरि नरिवलका रूखहरू हावासँग खेलिरहेका थिए। अपरिचित भाषा कानमा परिरहेको थियो। तर मुस्कान भने परिचित थियो। भाषा फरक हुन सक्छ। मुस्कान कहिल्यै अनुवाद माग्दैन।
श्रीलङ्काका मानिसहरूको अनुहारमा एउटा सहजता थियो। हतार कम थियो। आतिथ्यता बढी थियो। यात्राको प्रारम्भमै लाग्यो सभ्यता ठूला भवनले होइन, मानिसको व्यवहारले मापन हुन्छ। सम्मान जहाँ सहज हुन्छ, त्यहीँ संस्कृतिको वास्तविक उचाइ देखिन्छ।
विमानस्थलबाट कान्डीतर्फ यात्रा सुरु भयो। सडक समुद्री समथर भूमिबाट विस्तारै पहाडतिर उक्लिन थाल्यो। शहरको चहलपहल क्रमशः पछाडि छुट्दै गयो। अग्ला भवनहरू हराउँदै गए। हरियाली नजिकिँदै गइन्। प्रकृतिले यहाँ मानिसलाई कहिल्यै एक्लो हुन दिएकी छैन।
सडकका दुवैतर्फ नरिवलका वन थिए। कतै रबरका बगान। कतै दालचिनीका रूख। कतै धानका खेत। उष्णकटिबन्धीय वनस्पतिले धरतीलाई यति उदारतापूर्वक ढाकेका थिए कि माटो आफैँ हरियो वस्त्र लगाएर बसेको जस्तो लाग्थ्यो। नेपालको पहाड कठोर छन्। श्रीलङ्काका पहाड कोमल छन्। तर दुवैले धैर्यको एउटै पाठ पढाउँछन्।
गाडी निरन्तर अघि बढिरह्यो। सडक कहिले सीधा हुन्थ्यो। कहिले घुम्थ्यो। कहिले नदीसँगै दौडन्थ्यो। कहिले वनभित्र हराउँथ्यो। यात्राको गति गाडीले होइन, दृश्यहरूले निर्धारण गरिरहेका थिए। यात्रामा घडीको समय महत्त्वपूर्ण हुँदैन। दृश्यको समय महत्त्वपूर्ण हुन्छ।
बीच बीचमा साना बजारहरू आइरहेका थिए। पसलअगाडि ताजा फलफूल सजिएका थिए। रङ्गीन मसलाका थुप्रा आँखामा परिरहेका थिए। चिया, दालचिनी, ल्वाङ, इलाइची र मरिचको सुवास हावामै मिसिएको थियो। त्यस क्षण लाग्यो सुगन्ध पनि एउटा संस्कृति रहेछ। मसलाले केवल भोजनको स्वाद बदल्दैन। इतिहासको दिशा पनि बदल्छ।
यिनै मसलाको खोजीमा युरोपेली जहाजहरू हिन्द महासागरमा आइपुगेका थिए। व्यापारसँगै उपनिवेशवाद पनि आएको थियो। समुद्रले व्यापारी ल्यायो। व्यापारीसँगै साम्राज्य विस्तारको आकाङ्क्षा आयो। तर यही भूमिले प्रतिरोधको इतिहास पनि लेख्यो। हरेक बन्दरगाहसँग व्यापारको कथा हुन्छ। हरेक पहाडसँग स्वतन्त्रताको।
सडक उकालो लाग्न थालेपछि दृश्य फेरियो। चियाका बगानहरू सुरु भए। आँखाले देख्ने सीमासम्म हरियो लहरहरू फैलिएका थिए। पहाडका ढिस्काहरूलाई कलाकारले सावधानीपूर्वक कोरेझैँ सममित रूपमा चियाका बिरुवाले ढाकेका थिए। बिहानको ओस अझै पातमा अडिएको थियो। केही महिलाहरू टोकरी बोकेर कोमल पात टिपिरहेका थिए। श्रमको आफ्नै सौन्दर्य हुन्छ। त्यो थाकेको अनुहारमा पनि चम्किन्छ। त्यो दृश्यले मलाई नेपालको इलाम सम्झाइदियो। कन्यामका डाँडाहरू। कुहिरोभित्र हराएका चियाबगानहरू। श्रमिकका झुकेका काँधहरू। भूगोल फरक थियो। तर श्रमको अनुहार उस्तै थियो। पृथ्वीमा श्रमिकको भाषा एउटै हुन्छ। पसिना।
यात्रा अगाडि बढ्दै गयो। सडकले नदीहरू पार गर्यो। कतै साना झोलुङ्गे पुल देखिए। कतै औपनिवेशिक शैलीका पुराना भवन। कतै बौद्ध स्तूप। कतै हिन्दू मन्दिर। कतै चर्च। कतै मस्जिद। श्रीलङ्का विविधताको शान्त अभ्यास रहेछ। धर्महरू यहाँ प्रतिस्पर्धा गरिरहेका थिएनन्। आ–आफ्नो मौन साधनामा थिए। मानिसले भगवान्लाई फरक फरक नामले बोलाउँछ। भगवानले मानिसलाई एउटै करुणाले हेर्नुहुन्छ।
अचानक वर्षा सुरु भयो। उष्णकटिबन्धीय वर्षा। घना। तर कोमल। सडक भिज्यो। पातहरू चम्किए। हावामा नयाँ ताजापन भरियो। पानीका थोपाहरू झ्यालमा ठोक्किएर असंख्य आकृति बनाउन थाले। प्रकृतिले कुनै क्यानभासबिना चित्र कोरिरहेकी थिई। वर्षाले धुलो मात्र धुँदैन। मन तयार भए अहङ्कार पनि धुन सक्छ।
बीच बाटोको एउटा विश्रामस्थलमा गाडी रोकियो। तातो सिलोन चिया पस्किइयो। कपबाट उठेको बाफले अनुहार छोयो। पहिलो घुट्कोमै माटो, वर्षा, श्रम र पहाडको स्वाद मिसिएको अनुभूति भयो। राम्रो चिया पिउनु भनेको एउटा भूगोल पिउनु हो। त्यो सभ्यताको रस हो।
सिलोन चियाको इतिहास पनि संघर्षले लेखिएको रहेछ। बेलायती उपनिवेशकालमा सुरु भएका विशाल चिया बगानहरू आज श्रीलङ्काको अर्थतन्त्रको मेरुदण्ड बनेका छन्। तर प्रत्येक चियापातभित्र श्रमिकको मौन इतिहास पनि सुरक्षित छ। समृद्धि केवल उत्पादनबाट आउँदैन। न्यायपूर्ण श्रमबाट आउँछ।
गाडी फेरि अघि बढ्यो। अब पहाडहरू नजिक थिए। कुहिरोले शिखर ढाक्न थालेको थियो। वन बाक्लिँदै गएका थिए। चराहरूको स्वर हावामा घुलिरहेको थियो। बन्दरहरू रूखबाट रूखमा सहजै हाम फालिरहेका थिए। सडक साँघुरिँदै गएको थियो। तर दृश्य विशाल बन्दै गइरहेको थियो। प्रकृतिले कहिल्यै भीड बनाउँदिन। उसले विस्तार दिन्छ।
एउटा मोड काट्नेबित्तिकै टाढा पहाडहरूको काखमा एउटा शान्त शहर देखियो। बीचमा पानी चम्किरहेको थियो। वरिपरि हरिया डाँडाहरू थिए। मन्दिरका सेता शिखरहरू बिहानको उज्यालोमा झल्किरहेका थिए। त्यो कान्डी थियो। इतिहासले अँगालो हालेको शहर। करुणाले सुरक्षित राखेको शहर।
पहिलो दृष्टिमै किन मानिसहरू यस शहरसँग प्रेम गर्छन् भन्ने बुझ्न कठिन थिएन। यहाँ प्रकृति र संस्कृति एकअर्काका प्रतिस्पर्धी थिएनन्। सहयात्री थिए। शहरहरू धेरै देखिन्छन्। तर केही शहरहरू मात्र अनुभूतिमा बस्छन्। कान्डी त्यस्तै अनुभूति थियो।
शहरभित्र प्रवेश गर्दा सडक किनारका पुराना भवनहरूले औपनिवेशिक युगको स्मृति बोकेका थिए। आधुनिक जीवन पनि आफ्नै लयमा चलिरहेको थियो। पसलहरू थिए। विद्यालयहरू थिए। विश्वविद्यालयहरू थिए। मानिसहरूको दैनिक व्यस्तता पनि थियो। तर त्यस सम्पूर्ण गतिशीलतामाथि एउटा अदृश्य शान्ति फैलिएको थियो। सायद पहाडले मानिसलाई धैर्य सिकाउँछन्। सायद बुद्धको स्मृतिले मनलाई विनम्र बनाउँछ। सायद इतिहाससँग लामो संवाद गरेको शहर चर्को स्वरमा बोल्न जान्दैन।
गाडी कान्डी तालको किनार हुँदै अगाडि बढ्यो। साँझको सूर्य पानीमाथि सुनौलो भएर झरिरहेको थियो। तालमा आकाशको प्रतिबिम्ब थरथराइरहेको थियो। वरिपरि पहाडहरू मौन उभिएका थिए। बीचमा श्वेत मन्दिरका आकृतिहरू उज्यालो र शान्तिका प्रतीकझैँ देखिन्थे। म त्यो दृश्य हेरेर केही क्षण बोल्न सकिनँ। कहिलेकाहीँ सौन्दर्यले भाषा खोसिदिन्छ। त्यही बेला यात्राले आफ्नो वास्तविक अर्थ भेट्छ।
त्यस क्षण मैले महसुस गरेँ यात्रा सफल तब हुन्छ, जब कुनै दृश्यले शब्दभन्दा ठूलो मौनता जन्माउँछ। कान्डीले मेरो स्वागत भाषणले गरेन। उसले मौनताले गर्यो। र त्यो मौनता कुनै पनि भाषाभन्दा धेरै गहिरो थियो।
भोलिपल्ट मेरो पाइला श्री दलदा मालिगावतर्फ बढ्ने थियो। त्यो केवल एउटा मन्दिरको यात्रा हुने थिएन। त्यो करुणा, इतिहास, आस्था र बुद्धको जीवित स्मृतितर्फको यात्रा हुने थियो।
बिहान कान्डीमा बिस्तारै उज्यालो फैलँदै थियो। रातको अन्तिम कुहिरो अझै पहाडका काखमा निदाइरहेको थियो। कान्डी तालको पानी निश्चल थियो। त्यसको सतहमाथि आकाशले आफ्नै अनुहार हेरेजस्तो लाग्थ्यो। वरिपरिका वृक्षहरू समाधिस्थ ऋषिजस्तै मौन उभिएका थिए। चराहरूले दिनको पहिलो प्रार्थना गाइरहेका थिए। हावामा ओस, वनस्पति र धूपको हल्का सुगन्ध मिसिएको थियो। सम्पूर्ण शहरले मानौँ ध्यानको लामो श्वास फेरिरहेको थियो। त्यो दृश्य हेर्दा लाग्यो प्रकृतिले बोल्न शब्दको आवश्यकता पर्दैन। मौनताकै पनि आफ्नै भाषा हुन्छ।
त्यही बिहान मैले एउटा सत्य महसुस गरेँ। कुनै पनि शहरलाई बिहानको पहिलो किरणमा हेर्नुपर्छ। त्यही बेला शहरले आफ्नो वास्तविक अनुहार देखाउँछ। पर्यटकको भीड आउनुअघि। व्यापारको कोलाहल सुरु हुनुअघि। सडकहरूले धूलो ओढ्नुअघि। मानिसहरूले दिनका भूमिका निर्वाह गर्नुअघि। बिहान शहरहरू आफ्नै आत्मासँग संवाद गरिरहेका हुन्छन्। त्यसबेला तिनको बाहिरी स्वरूप होइन, भित्री चेतना देखिन्छ। कान्डी पनि त्यही आत्मसंवादमा डुबेको थियो।
म विस्तारै श्री दलदा मालिगावतर्फ हिँड्न थालेँ। बाटो सफा थियो। दुवैतर्फ पुराना भवनहरू बिहानको उज्यालोमा स्नान गरिरहेका थिए। कतै औपनिवेशिक शैलीका झ्यालहरू थिए। कतै सिंहली वास्तुकलाका सुन्दर छाना। कतै बौद्ध ध्वजाहरू मन्द हावासँग खेलिरहेका थिए। प्रत्येक इँटाले एउटा युग बोकेको थियो। प्रत्येक गल्लीले एउटा कथा सुनाइरहेको थियो। लाग्थ्यो, इतिहास यहाँ मरेको छैन। उसले केवल समयअनुसार आफ्नो पोशाक फेरेको छ।
सभ्यता पनि मानिसजस्तै हुन्छ। समयसँगै बदलिन्छ। नयाँ भाषा सिक्छ। नयाँ प्रविधि अपनाउँछ। तर आफ्नो आत्मा जोगाउन सके मात्र दीर्घजीवी बन्छ। आत्मा हराएको सभ्यता महल भएर पनि भग्नावशेष बन्छ। आत्मा बाँचेको सभ्यता भग्नावशेष भएर पनि अमर रहन्छ। कान्डी त्यही जीवित आत्माको अर्को नाम हो।
आज संसारले कान्डीलाई श्रीलङ्काको सांस्कृतिक राजधानी भन्छ। तर यसको इतिहास एउटा राष्ट्रको स्वाभिमानको इतिहास हो। यो पहाडले जोगाएको स्वतन्त्रताको कथा हो। यो करुणाले सुरक्षित राखेको सभ्यताको स्मृति हो। यही कारण कान्डी नक्सामा सीमित शहर होइन। यो चेतनामा बस्ने भूगोल हो।
पन्ध्रौँ शताब्दीको उत्तरार्धमा सिंहली राज्यले नयाँ राजधानीको खोजी गरिरहेको थियो। समुद्री किनाराहरू विदेशी प्रभावले असुरक्षित बन्दै गएका थिए। त्यस बेला यी पहाडहरूले एउटा नयाँ राजधानीलाई जन्म दिए। सेनकडागलपुर। पछि महा नुवरा। महान् राजधानी। समयले नाम फेर्यो। तर इतिहासले आत्मा फेरेन। आज पनि धेरै सिंहली नागरिक प्रेमपूर्वक यसलाई ‘नुवरा’ भनेर सम्बोधन गर्छन्। नाम उच्चारणले चिनाउँछ। पहिचान इतिहासले बनाउँछ।
मलाई लाग्यो, राजधानीहरू संयोगले जन्मँदैनन्। पहाडहरू केवल उचाइ होइनन्। उनीहरू धैर्य हुन्। उनीहरू स्वाभिमान हुन्। उनीहरू स्वतन्त्रताको प्राकृतिक दुर्ग हुन्। यही कारण कान्डीले विदेशी शक्तिको सामना गर्न सक्यो। समुद्रबाट आएका जहाजहरूले किनाराहरू जिते। तर पहाडहरूको आत्मा जित्न सकेनन्।
सन् १५०५ तिर पोर्चुगिज श्रीलङ्काको किनारमा पुगे। उनीहरू व्यापारका नाममा आएका थिए। तर इतिहासले बारम्बार देखाएको छ जहाँ व्यापारसँग लोभ मिसिन्छ, त्यहाँ उपनिवेशवाद जन्मिन्छ। व्यापारसँगै धर्म आयो। धर्मसँगै सैनिक आए। सैनिकसँगै साम्राज्य विस्तारको इच्छा आयो। यो केवल श्रीलङ्काको कथा होइन। सम्पूर्ण एसियाले भोगेको साझा इतिहास हो।
तर कान्डी झुकेन। पहाडहरू किल्ला बने। वनहरू सैनिक बने। कुहिरो ढाल बन्यो। साँघुरा बाटाहरू प्रतिरोधका साथी बने। प्रकृतिले यहाँ मानिससँग मिलेर स्वतन्त्रताको रक्षा गर्यो। पोर्चुगिज असफल भए। डचहरू पनि सफल भएनन्। इतिहासले त्यतिबेला मलाई एउटा पाठ सुनायो। मानिसले बनाएका पर्खालहरू भत्कन सक्छन्। प्रकृतिले बनाएका किल्लाहरू युगौँसम्म उभिइरहन्छन्।
समय फेरि बदलियो। युरोपमा नेपोलियन युद्ध चलिरहेको थियो। डच शक्ति कमजोर हुँदै गयो। बेलायती साम्राज्य बलियो बन्दै गयो। अन्ततः सन् १८१५ मा कान्डीको इतिहासले नयाँ मोड लियो। श्री दलदा मालिगावाको परिसरमा एउटा सन्धिपत्रमा हस्ताक्षर भयो। सिंहली राजतन्त्रको लामो अध्याय समाप्त भयो। श्रीलङ्का पूर्ण रूपमा विदेशी शासनअन्तर्गत पुग्यो। त्यो दिन केवल एउटा राज्य हारेन। एउटा युग समाप्त भयो।
तर इतिहासले मलाई अर्को कुरा पनि सिकायो। सबै युद्ध मैदानमा हारिँदैनन्। केही युद्ध सम्झौतामा हारिन्छन्। केही युद्ध मौनतामा। तर स्वाभिमान कहिल्यै पूर्ण रूपमा पराजित हुँदैन। ऊ पुस्तादेखि पुस्तासम्म स्मृतिका रूपमा बाँचिरहन्छ। कान्डी त्यही स्मृतिको जीवित स्वर हो।
यिनै विचारहरू मनमा लिएर म श्री दलदा मालिगावाको प्रवेशद्वारमा पुगेँ। श्वेत पर्खाल बिहानको घाममा चम्किरहेको थियो। सुनौलो छानाले सूर्यको प्रकाशलाई करुणाको उज्यालोमा रूपान्तरण गरिरहेको थियो। काष्ठकलाले सजिएका द्वार। ढुङ्गामा कुँदिएका सिंह। कमलका आकृति। जलखालले घेरिएको परिसर। सबै कुरा भव्य थियो। तर कतै प्रदर्शन थिएन। पूर्वीय सभ्यताको सौन्दर्य नै यही हो। शक्ति हुन्छ। तर विनम्रता हराउँदैन। वैभव हुन्छ। तर अहङ्कार जन्मिँदैन।
मन्दिरभित्र प्रवेश गर्ने प्रत्येक मानिसको चाल आफैँ सुस्त हुन्थ्यो। कोही फूल बोकेर आएका थिए। कोही कमल। कोही धूप। कोही खाली हात। तर त्यहाँ खाली हातको अर्थ खाली मन थिएन। श्रद्धाले भरिएको हृदयभन्दा ठूलो अर्पण संसारमा अर्को हुँदैन। आस्थाले कहिल्यै वस्तुको मूल्य हेर्दैन। उसले मनको उज्यालो मात्र देख्छ।
घण्टीको ध्वनि विस्तारै वातावरणमा फैलिरहेको थियो। पालि सूत्रहरूको लयले हावालाई पनि ध्यानमय बनाइदिएको थियो। धूपको सुवासले समयलाई नै सुगन्धित बनाएको अनुभूति हुन्थ्यो। केही क्षणका लागि घडीको अस्तित्व हरायो। केवल वर्तमान बाँकी रह्यो। मौनताले सम्पूर्ण मन्दिरलाई आफ्नो काखमा राखेको थियो। मानिस बोल्दा शब्द सुनिन्छन्। मौन हुँदा आत्मा सुनिन्छ।
त्यही मौनताभित्र मैले बुद्धलाई सम्झेँ। उहाँले कुनै साम्राज्य निर्माण गर्नुभएन। कुनै सेना खडा गर्नुभएन। कुनै भूभाग जित्नुभएन। तर उहाँले मानिसको अन्तःकरण जित्नुभयो। यही कारण आज साम्राज्यहरू इतिहासका पुस्तकमा सीमित छन्। बुद्ध भने करोडौँ मानिसको चेतनामा जीवित हुनुहुन्छ। तरवारले जितेको भूमि समयसँगै बदलिन्छ। करुणाले जितेको हृदय कहिल्यै पराजित हुँदैन।
कान्डीमा बिताएका दिनहरू विस्तारै स्मृतिमा रूपान्तरित हुँदै थिए। यात्राको अन्तिम बिहान थियो। तर मनले त्यसलाई अन्त्य मानेन। केही यात्राहरू गन्तव्यमा पुगेर समाप्त हुँदैनन्। तिनीहरू बाहिरी बाटोबाट अन्तर्मनको यात्रामा प्रवेश गर्छन्। पाइला रोकिन्छन्। चेतना भने अझै हिँडिरहन्छ।
बिहानै म श्री दलदा मालिगावाको प्राङ्गणमा पुगेँ। श्रद्धालुहरूको पङ्क्ति लामो थियो। कसैका हातमा सेता कमल थिए। कसैका हातमा नीलकमल। कसैले धूप बोकेका थिए। कसैले फलफूल। धेरैका हात भने रित्तै थिए। तर तिनका हृदय भरिएका थिए। त्यहीँ मैले बुझेँ आस्था अर्पणले होइन, अन्तःकरणको निर्मलताले नापिन्छ। ईश्वरले वस्तु होइन, चेतना स्वीकार गर्नुहुन्छ।
मन्दिरभित्र पालि वाचन गुञ्जिरहेको थियो। घण्टीको ध्वनि हावामा घुलिरहेको थियो। धूपको सुगन्धले वातावरणलाई ध्यानमय बनाएको थियो। त्यहाँ शब्दहरू गौण थिए। मौनता नै प्रमुख भाषा थियो। त्यस क्षण अनुभूति भयो प्रार्थना भगवान्लाई सम्झाउने कर्म होइन। आफ्नै विवेकलाई जागृत गर्ने साधना हो। बाहिरी देवालयभन्दा ठूलो मन्दिर मानवको अन्तःकरण हो।
कान्डी जीवित बौद्ध सभ्यताको स्पन्दन हो। यहाँ धर्म संग्रहालयका भित्ताभित्र थुनिएको छैन। मानिसको व्यवहारमा बाँचेको छ। भिक्षुको अनुशासनमा। बालबालिकाको संस्कारमा। प्रकृतिप्रतिको श्रद्धामा। अपरिचितलाई मुस्कानले स्वागत गर्ने संस्कृतिमा। सभ्यता स्मारकले होइन, संस्कारले जीवित रहन्छ।
साँझपख एक वृद्ध स्थानीयसँग छोटो संवाद भयो। उहाँ धेरै अंग्रेजी बोल्न सक्नुहुन्नथ्यो। म सिंहली भाषा जान्दिनथेँ। तर मुस्कानले भाषाको अभाव पूरा गरिदियो। उहाँले मन्दिरतिर औँला देखाउँदै केवल एउटा शब्द उच्चारण गर्नुभयो। “बुद्ध।” मैले मुस्कुराउँदै उत्तर दिएँ।“लुम्बिनी।” उहाँको अनुहार उज्यालियो। त्यो क्षण दुई अपरिचित मानिसबीचको संवाद थिएन। त्यो दुई सभ्यताबीचको आत्मीय आलिङ्गन थियो।
त्यस क्षण मैले गहिरो अनुभूति गरेँ। लुम्बिनी जन्मभूमि हो। कान्डी श्रद्धाभूमि। एउटा ठाउँले बुद्धलाई जन्म दियो। अर्को ठाउँले बुद्धको करुणालाई युगौँसम्म संरक्षण गर्यो। यही आध्यात्मिक सम्बन्धले नेपाल र श्रीलङ्कालाई नक्साभन्दा माथि उठाएर चेतनाको एउटै सूत्रमा बाँधेको छ। राष्ट्रहरू सीमाले छुट्टिन्छन्। मानवता करुणाले जोडिन्छ।
भाग्यले त्यहाँको प्रसिद्ध एसला पेराहेरा पर्वबारे स्थानीयहरूबाट धेरै कुरा सुन्ने अवसर पनि मिल्यो। सजिएका हात्तीहरू। परम्परागत नर्तकहरू। ढोल नगाडाको लय। अग्निनृत्य। दीपहरूको उज्यालो। सम्पूर्ण शहर एउटा जीवित संस्कृतिमा रूपान्तरित हुने रहेछ। तर त्यो उत्सवको केन्द्र प्रदर्शन होइन। श्रद्धा हो। त्यहाँ हात्ती शक्ति होइन, परम्पराको प्रतीक बन्छ। ढोल आवाज होइन, इतिहासको धड्कन बन्छ। शोभायात्रा भीड होइन, सामूहिक स्मृतिको प्रवाह बन्छ।
संस्कृति भनेको अतीतलाई बोकेर भविष्यतर्फ हिँड्ने विवेक हो। कान्डी त्यसै विवेकको नगर हो। उसले आधुनिकतालाई अस्वीकार गरेको छैन। तर आधुनिकताको नाममा आफ्नो आत्मा पनि बेचेको छैन। विकासले जरा काट्यो भने त्यो उन्नति होइन। सभ्यताको क्षय हो।
यात्राभरि एउटा कुरा बारम्बार अनुभूति भयो। यहाँका मानिसहरू प्रकृतिलाई सम्पत्ति मान्दैनन्। उत्तराधिकार मान्छन्। पहाड उनीहरूका लागि ढुङ्गा होइन। वन काठ होइन। नदी केवल पानी होइन। यी सबै भावी पुस्ताका निम्ति सुरक्षित राख्नुपर्ने नैतिक उत्तरदायित्व हुन्। मानिस प्रकृतिको स्वामी होइन। क्षणिक संरक्षक मात्र हो।
आज संसार जलवायु सङ्कटसँग जुधिरहेको छ। वनहरू हराउँदै छन्। नदीहरू सुक्दै छन्। हिमनदीहरू पग्लिरहेका छन्। समुद्रको सतह उक्लिरहेको छ। यस्तो समयमा कान्डीका पहाडहरूले मौन सन्देश दिन्छन्। प्रकृतिलाई जित्ने अहङ्कार नगर। उसँग सहअस्तित्व सिक। प्रकृतिलाई बचाउनु पृथ्वीलाई होइन, आफ्नै भविष्यलाई बचाउनु हो।
फर्कने समय आयो। फेरि कोलम्बोतर्फ यात्रा सुरु भयो। उही सडक। उही चियाबगान। उही वर्षाले धुइएका पहाड। उही गाउँहरू। तर यात्रु उही थिएन। दृश्य बदलिएका थिएनन्। दृष्टि बदलिएको थियो। यही यात्राको वास्तविक चमत्कार हो। बाहिरको भूगोल स्थिर रहन्छ। भित्रको भूगोल विस्तारिन्छ।
चियाबगान फेरि देखिए। श्रमिकहरू फेरि पात टिपिरहेका थिए। महावेली नदी उस्तै बगिरहेकी थिई। नरिवलका वन उस्तै हल्लिरहेका थिए। तर यसपटक ती दृश्यहरू केवल सुन्दर लागेनन्। तिनीहरू अर्थपूर्ण लागे। सौन्दर्य आँखाले देख्छ। अर्थ जागृत चेतनाले देख्छ। संसार हेर्नु र संसार बुझ्नु एउटै कुरा होइन।
कोलम्बो विमानस्थलतर्फ बढ्दै गर्दा मन असाध्यै शान्त थियो। सबै यात्राले उत्साह दिँदैनन्। केही यात्राले ज्ञान दिन्छन्। अझ थोरैले करुणा सिकाउँछन्। कान्डीको यात्रा करुणाको विश्वविद्यालय थियो। जहाँ शिक्षक मौन थिए। पाठ भने जीवन थियो।
विमानले फेरि आकाश समात्यो। श्रीलङ्काको हरियो टापु विस्तारै टाढिँदै गयो। हिन्द महासागर नीलो अनन्ततामा फैलियो। केही घण्टापछि हिमालयको शृङ्खला क्षितिजमा देखा पर्यो। नेपाल नजिकिँदै थियो। त्यो क्षण लाग्यो म बुद्धको जन्मभूमिबाट श्रद्धाभूमिसम्म पुगेको थिएँ र फेरि जन्मभूमितर्फ फर्किरहेको थिएँ। यो केवल यात्रा थिएन। यो एउटा पूर्ण आध्यात्मिक वृत्त थियो। हिमाल र महासागरको मौन संवाद थियो। लुम्बिनी र कान्डीको करुणामय आलिङ्गन थियो।
काठमाडौंको आकाश फेरि देखापर्यो। पहाडहरू उस्तै थिए। स्वयम्भू उस्तै मौन थियो। बागमती उस्तै बगिरहेकी थिई। तर फर्किएको म पहिलेको म थिएन। मैले केवल अर्को देश देखेको थिइनँ। मैले इतिहाससँग संवाद गरेको थिएँ। संस्कृतिसँग हात मिलाएको थिएँ। प्रकृतिसँग ध्यान गरेको थिएँ। र आफ्नै अन्तःकरणभित्र लुकेको एउटा मौन यात्रुलाई भेटेको थिएँ।

