चन्द्रप्रसाद न्यौपाने
वि.सं. २०३७–०३८ सालतिरको कुरा हो । “जमानामा के के गरियो ! गरियो ! तिमीहरूले के गरेका छौ र !” बाको भुतभुताई त्यस्तै हो । गर्न पनि के गर्नु र ! केटाकेटी उमेर । कहाँबाट पलाओस् बुद्धि । ०३७–३८ सालतिर हो जलबिरेमा राष्ट्रिय वाणिज्य बैंक बसेको । बैंक आएपछि धेरै जनाले खाता खोले । खाता खोल्नुपर्छ, वचत गर्नुपर्छ । अहिले थोपा थोपा सुका सुका बटुलेर जम्मा गरेको पैसाले भविष्यमा ठुलै गर्जो टर्छ ! यही थियो बैंकको विज्ञापन पनि ।
अरूले खाता खोलेपछि मलाई पनि खोल्न मन लाग्यो । चिटिक्क परेको हरियो पासबुक । देख्दा निकै राम्रो लाग्दथ्यो ! आफ्नो बनाउने कसरी ? खाता नखोली कहाँ पाउनु र ! खाता खोल्न रु. १०।– लाग्दथ्यो । वचत खातामा साँढे आठ प्रतिशत व्याज दिने गर्दथ्यो बैंकले । खाताका प्रकार तीन थरी थिए– मुद्धती, चल्ती र वचत । वचत खाता खोल्न १० रुपियाँ लाग्ने । कहाँ पाउनु दस रुपियाँ !
साउनको महिना थियो । बेँसीको बलेफी–तेम्बाथान आवातजावतको बाटोमा पैदलमार्गीको चाप बाक्लै हुन्थ्यो । मोटरबाटो खुलेको थिएन । मेरो गाउँघरबाट बेँसी बाटोमा झर्न आधा घन्टा लाग्दथ्यो ।
बाको खल्तीमा ५०–६० रुपियाँ खाँचो हुँदैनथ्यो । थाहा नपाउने गरी चोरेर बैंकमा जम्मा गर्न थालेँ म । बिस, पचास र सयका ठुला नोट झिक्दा थाहा हुन्छ भनेर छुँदैनथेँ । बालाई यो कुरो थाहा नै भएन । बाको खल्तीबाट अलिअलि गरेर करिब सय डेढसय जति मैले चोरें होला ।
घरमुनि ठुलो नास्पातीको रुख थियो । हाँगा भाँचिनै लागेजस्तो प्रशस्तै नास्पातीका गेडा । मेरो मनमा उब्जियो ! यही नास्पाती बेच्छु अनि दस रुपियाँ कमाएर बैंकमा खाता खोल्छु । बेच्न पो कहाँ लाने ? सबै मागेर खाने हुन् । गाउँघरमा किनबेचको चलन थिएन । चिन्नेले पैसा दिँदैनन्, अब नचिन्ने मान्छेलाई बेच्नुपर्यो ! एक झोला टिपेँ । मोटो डोरीले बुनेको ठुलो जाली झोला थियो ३०–४० ओटा गेडाजति अटाउने । बोकेर बेँसीको मूल बाटोतिर लागेँ ।
नास्पाती लिएर एकाछेउको दोबाटोमा बसेँ म । माथि लेकदेखिका मान्छे धुइरो लागेर हिँड्ने ठाउँ । अलि छाँटकाँट परेर हिँड्ने मान्छेसँग पैसा हुन्छ होला भन्ठानेर बोलाई हाल्थेँ– रसिलो पोसिलो नास्पाती किन्नोस् ! किन्नोस् ! सुका गोटा, रूपियाँको किने ५ ओटा । नौलो मान्छे देख्यो कि बोलाइहाल्थेँ । मान्छे हिँडिरहने बाटो । माथि लेकतिर नास्पाती नहुने भएकाले महत्त्व पनि मान्दथे । साउनको महिना भए पनि घाम चर्केको दिन थियो । मान्छेको ओहोरदोहोर बाक्लै देखिन्थ्यो । तेम्बा, गुम्बा, गोल्चे, निम्लुङ, सेलाङ, याङ्लाकोटका मान्छेलाई बलेफीको मोटरबाटोसम्म आइपुग्न १–२ हिँड्नै पर्ने । यात्रुचाप बाक्लै भएका कारण ३–४ घन्टामै बेचिसकेछु ३५–४० ओटा नास्पातीका दाना । सकेसम्मको भाउ कसेरै बेचेको हो, ८ रुपियाँ चानचुन भएछ ।
बाबै, कति खुसी लाग्यो । गरे नहुने के रहेछ र ! जगेडा गरेर राखेको ३–४ रुपियाँ त साथैमा थियो । कताकता के के जोरजाम गर्दा १४–१५ रुपियाँ पुगिहाल्यो । भोलिपल्ट गएर १५ रुपियाँ राखेर खाता खुलाएँ । मैनेजरको नाम बिर्सेँ । ७–८ कक्षामा पढ्ने केटाको यस्तो सद्बुद्धि ! खुशीले धाप मार्दै भने– वचत गर्ने बानी बसाल्नु पर्दछ । फुरमासी खर्च गर्नु हुँदैन । हामी तिमीलाई वचत गर्ने अरू पनि उपाय बताइदिन्छौँ । बारीमा फलेका हरिया फर्सीका गट्टा, तितेकरेला, सागपातलगायत जे जे छ हामीलाई ल्याइदिनू । १–२ रुपियाँ हुँदै बढ्दै जान्छ ।
के खोज्छस्… आँखो भनेझैँ मैले त्यसै गर्न थालेँ । उतिबेला गाउँघरमा तरकारी किनबेच गर्ने चलन थिएन । स्कुल जानुअघि घरमा आमाले थाहा नपाउने गरी तरकारी टिपेर अलिपर बाटोमा लुकाउँथे म र मोहर रुपियाँका तरकारी बेच्न थालेँ । आमा छक्क पर्नुहुन्थ्यो करेसाकै तरकारी हराउन थाल्यो ! हल्लाखल्ला गाउँभरि हुनथाल्यो– फलानाको घरमा त पाकेका खोर्सानी, सागपात, फर्सीका गट्टा, हराउन थाल्यो रे ! चियो बस्नुपर्ने भयो, कसले लाँदोरहेछ ? घरका मान्छेहरू पनि निकै चनाखो हुन थाले । बल्ल थाहा भएछ, हिजो एक हातमा किताब अर्को हातमा तरकारी बोकेर चन्द्रे स्कुल जाँदै थियो रे !
मैले सँगैका अरू साथीहरूलाई पनि खाता खोल्न उचाल्न थालेँ । खाता खोल्दा खाता भएको एक जना साक्षी बस्नुपर्थ्यो । कटुन्जेका दीपकलाल पराजुलीलगायत ८–१० जना केटाहरूको साक्षी बसेर खाता खोल्न लगाएँ । दीपकलाललाई खुब सम्झन्छु म । उनी मेहनती सज्जन स्वभावका विनयी थिए । मभन्दा पछिल्ला कक्षाका भएकाले मलाई आदर सम्मान गर्दथे ।
आमाले गरेको कमाई खुरुखुरु चोरेर बेचेर कति रजाइँ गर्नु ! हुन त रजाइँ पो के गरेको छु र ? सुको खर्च गरेको छैन मैले । पैसा जम्मा गरेको हो । जाडोमा आमालाई बाक्लो ऊनीको पछ्यौरा किनिदिएपछि अनि थाहा पाउनेछिन्, छोराको करामत ! अनेक कुरा खेल्न थाले मेरा मनले । ध्यान पैसामा र त्यसलाई वचत गर्नेमा केन्द्रित हुन थाल्यो ।
बासँग हम्मेसी पैसा खाँचो हुँदैनथ्यो । इस्टकोट, ज्वारीकोट, लम्बुकोट बाको बाहिरी पहिरन । ज्वारीकोटको भित्री खल्तीमा पैसा राख्नुहुन्थ्यो । एक–एक थाहा थियो मलाई । खाना खाने बेलामा लुगा फुकालेर खाने चलन भएकाले खाना खाँदा कपडा खोलेर एकातिर राख्नुहुन्थ्यो बा । त्यही मौका पारेर खल्ती छामछुम पार्न थालेँ म । थाहा पाए के होला ! बाको रिस कम्ताको कहाँ थियो र फेरि ! जुरुक्क उचालेर झट्टी फालिदिनुहुन्थ्यो । बाको खल्तीमा ५०–६० रुपियाँ त कहिल्यै खाँचो हुँदैनथ्यो । थाहा नपाउने गरी १–२ र ५–१० का १–२ ओटा नोट झिकेर बैंकमा जम्मा गर्न थालेँ म । बिस, पचास र सयका ठुला नोट झिक्दा थाहा हुन्छ भनेर छुँदै छुँदैनथेँ । बालाई यो कुरो थाहा नै भएन । बाको खल्तीबाट अलिअलि पटकपटक गरेर करिब सय डेढसय जति जिप्ट्याएँ जस्तो लाग्दछ ।
मैनावारि फि तिर्नुपर्थ्यो । महिनाको पहिलो दिन १ गते बिदाको दिन परे भोलिपल्ट बुझाउनुपर्ने । फि तिरिदिन घरका अभिभावक सधैँ जान भ्याउनु नि पर्यो नि ! मै बुझाउँला भनेर बालाई कामको चाप घटाइदिएजसो गरेर फि तिर्न १० रुपियाँ लागे १२ रुपैयाँ भन्थेँ र १–२ रुपैयाँ नाफा गरेर जम्मा गर्न थालेँ । फुरमासी खर्च गर्ने त कुरै भएन, सुकाको भटमास किनेर खाँदैनथेँ । भोकले चाम परेर दाम जोगाउने र बैंकमा जम्मा गर्न थालेँ म ।
भर्खरै २० रुपियाँको नोट छापिएको थियो । खाता खोलेकै साल हो । शायद दसैँको मुखैमा हुँदो हो । दसैँको टीकाटाला खर्चका लागि हुनुपर्छ, बाले जलबिरेका ध्रुवसाहुकहाँ छबिस ऋण काढेर ल्याउनुभयो । कट्कटाउँदा ६ थान २० रुपियाँका नोट । बाको कोटको खल्तीबाट एउटा सुटुक्क झिकेँ र लगेर बैंकमा जम्मा गरेँ ।
बेलुकी पैसाको के काम परेछ बालाई, साहु काढेर ल्याएको पैसा गन्न थाल्नुभयो । जतिपटक गने पनि पाँचओटा मात्रै हुन्छ, ६ ओटा वा छबिस पुग्दै पुग्दैन । साहुले गन्न भुल्याएछ बिहानै उठेर साहुलाई भेट्न जान्छु र बेस्सरी हप्काउँछु भनेर बम्कन थाल्नुभयो बा । अलिअलि मुटु ढुकढुक गर्न थाल्यो मेरो । अब के हुने हो ? बाले यो कुरो थाहा पाए …! निद्रा आउन पनि निकै कठिन भयो मलाई ।
भोलिपल्ट सखारै बा बजार लाग्नुभयो । बाले नदेख्ने, थाहा नपाउने गरी म पनि पछिपछि लागेँ । सरासर साहुलाई बोलाएर बा बम्कन थाल्नुभयो । मचाहिँ पसलको बाटोपट्टिको कर्नरबाट चियाउँदै कान थाप्न थालेँ ।
सात समुद्रपारि डुलेर आएको मान्छे म, इमान जमान, इज्जत प्रतिष्ठा छ बाबै, म ढाँट्तिन तैँले दिएको २० रुपियाँका ५ ओटा नोट यिनै हुन्, कम्मरमा बाँधेको बाँध्यै छु । निकैबेर भनाभन चल्यो । ध्रुव साहु निकै बाठा जान्नेसुन्ने । पूरा नाम ध्रुवकाजी श्रेष्ठ हो । बजारका गिनेचुनेका बक्तमाने साहुको कान्छो छोरो । बीए पास गरेका स्कुलका मास्टर भएका अनि मास्टर छोडेपछि विद्यालय सञ्चालक समितिका अध्यक्ष पनि । मान्नेगन्ने नै हुन् । मेरो बालाई निकै मानसम्मान गर्थे । अट्कोपड्को खरखाँचो, उधारो सबै उनैकहाँ कारोबार हुन्थ्यो हाम्रो । सधैँ इमानजमानमा हिँड्ने हीरालाल बाजेले किन ढाँट्थे, उनमा विश्वास थियो, आखिर झुक्किन सक्छ बाजे, नरिसाउनुहोला भन्दै ध्रुव साहुले २० रुपियाँ थपिदिए ।
मेरो मुटु निकै काम्यो । अब बाको अनुहार कसरी हेर्ने होला ! साहुले त बाको इमानजमानको विश्वासलाई कदर गरेको हो । एकपल्टलाई हो त्यो पनि । भित्रभित्रै शरम लाग्न थाल्यो मलाई । हरे ! मेरा कारणले बाले यति ठुलो अपमान र बेइज्जत भोग्नुपर्यो ! त्यस दिनदेखि कहिल्यै बाको खल्तीबाट पैसा झिकिनँ । निकै शरम भयो मलाई । बाको मुखमा सिधा हेर्न सकिनँ ।
केही वर्षपछि कतिले मलाई भन्न थाले– गाउँमा तरकारी, फलफूल बेचेर पैसा जम्मा गर्न सिक्ने, सिकाउने र जम्मा गर्ने यही चन्द्रे कान्छो हो । २–४ वर्षमा एक सुकाको भटमाससम्म किनेर नखाई कतै खर्च नगरी जम्मा भएको पैसा तीन हजार चानचुन भएछ । आमालाई ऊनीको पछ्यौरा किन्दिने, बालाई लागेको ऋण तिरिदिने, घरमा नभई नहुने कुराको जोरजाम गरिदिने मन थियो मेरो तर भनेजसो सबै भयो, भएन ?
४०–४१ सालतिरको तिहारमा हो, यसपाललि देउसी खेल्न पल्लो गाउँमा जाने भन्ने कुरा भयो । बाले भन्नुभयो, उज्यालो गतिलै चाहिन्छ वनको बाटो छ । मैले भनेँ- म देखाइदिन्छु उज्यालो । खाताबाट रु. ३०।– झिकेर एउटा जीप टर्चलाइट किनेर ल्याएँ । जीपलाइट त्यो बेलाको निकै महङ्गो टर्च हो । कोही कोही आर्मीमा जागिर खानेले किनेर ल्याएको हुन्थ्यो । निकै तेजिलो पारिगाउँको घरको धुरी छर्लङ्गै देखिने । रातसाँझ घरगोठ गर्नका लागि पनि निकै उपयोगी । देउसी खेल्न जाने बेलामा मैले टर्च बालेपछि सबै खुसी भए । खुसीको सीमा रहेन ।
घरमा समाचारको साधन केही थिएन । बा समाचार सुन्न प्रधानपञ्चकहाँ जानुहुन्थ्यो । त्यही खाताबाट रु. एक हजार झिकेँ र रु. ८५० को एउटा जापानिज पानासोनिक रेडियो किनेर घरमा ल्याएँ । काठमाडौँको आतेजाते खाना होटललाई सय रुपियाँ पनि बढी हुन्थ्यो । रु. ८ तिरेपछि दालभात तरकारी पेटभरि खान पाइन्थ्यो । के पर्छ के पर्छ भनेर पचास रुपियाँचाहिँ साथमा राखेको थिएँ ।
जग्गा किन्दा, अन्य काममा काढिएको ऋणले थिचेको थियो बालाई । साहु आएर सधैँ कराउँथे । केही समयपछि साहु आएका बेलामा बाको ठुलै ऋण तिर्न त्यही पैसाले सहयोग गरेँ मैले । उनै ध्रुव साहुको वषौँदेखिको साउँव्याज, स्याज, ठेकी अनेक जोडिएको रु. ११०० तिरिदिएँ । बा दङ्ग पर्नुभयो । साग बेचेर कान्छाले गरेछ ! मुसुमुसु हाँस्नुभयो, बालाई अझै थाहा थिएन, यो पैसामा डेढदुई सयजति मेरै खल्तीबाट झिकेर जम्मा भएको हो ।

