राजविराज (सप्तरी) — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा छ परिवारका १२ घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्किएको आगोले तीव्र रूप लिँदा व्यापक क्षति पुगेको हो। आगलागीमा रामअवतार यादवका दुई घर र एक गाईगोठ, जुगाइ यादवका दुई घर र एक गोठ, अनिल यादवका दुई घर र एक गोठ तथा योगेन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका एक/एक घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
स्थानीय रामनाथ यादवका अनुसार आगलागीबाट नौवटा घर र तीनवटा गाईगोठ गरी कुल १२ संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। साथै, घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसमेत आगोले जलेर नष्ट भएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिका र मधेस प्रदेश प्रहरी तालिम केन्द्र, राजविराजबाट पुगेको बारुणयन्त्र तथा स्थानीयवासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीको विस्तृत क्षतिको विवरण संकलन भइरहेको छ।

