काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी टुंगो लगाएको छ । गत चैत १९ गते सुरु भई वैशाख १५ गते सम्पन्न केन्द्रीय कार्य–संयोजन समितिको निर्णय कार्यान्वयनका लागि जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी)–३ मार्फत विभागीय प्रमुख तथा उपप्रमुखहरूको जिम्मेवारी तोकिएको हो ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अपानी–३ अनुसार अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व प्रमेश कुमार हमालले सम्हाल्ने भएका छन् ।
त्यस्तै, वामदेव गौतमलाई उद्यमशीलता तथा उत्पादन विभागको प्रमुख बनाइएको छ भने प्रचार विभागको जिम्मेवारी रेखा शर्माले पाएकी छन् । सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज रहेकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्था विभागको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय हित सुरक्षा विभागको नेतृत्व कृष्णबहादुर महराले पाएका छन् भने संगठन विभागको प्रमुखमा वर्षमान पुन नियुक्त भएका छन् । प्रवास प्रदेश समन्वय समितिको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ ।
अपानी–३ अनुसार नीति अध्ययन अनुसन्धान प्रतिष्ठानको प्रमुखमा राजेन्द्र श्रेष्ठ, स्थानीय तह विभागमा अग्नि सापकोटा, श्रम तथा रोजगार विभागमा गरिमा शाह तथा शिक्षा विभागमा गिरीराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।
यसैगरी, पार्टी स्कुल विभागको जिम्मेवारी डा. बेदुराम भुसालले पाएका छन् भने खानेपानी तथा सरसफाइ विभागको नेतृत्व विना मगरलाई दिइएको छ ।
नेकपाले पार्टी संगठनलाई थप प्रभावकारी, व्यवस्थित र कार्यमुखी बनाउन विभागीय जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ ।

