काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। छानबिनको निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सांसद सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँका विषयमा उठेका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिअनुसार महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई पार्टीले गम्भीर र संवेदनशील रूपमा लिएको छ। ती विषय सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएकाले सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको पार्टीले जनाएको छ।

