नुवाकोट। भोटेकोशी बाढीले क्षति पुर्याएपछि नुवाकोटको त्रिशुली बजार र ढुङ्गे बजारबीच आवतजावत गर्न कठिनाइ भइरहेको अवस्थामा स्थानीय बासिन्दाको पहलमा झोलुङ्गे पुल निर्माण गरिएको छ। निर्माण व्यवसायी माहासंघको आर्थिक लगानी,जिल्ला निर्माण ब्यबसायी संघ तथा पूर्वाधार कार्यलय नुवाकोटको सहयोगमा निर्माण गरिएको उक्त पुल दशैंको मुखैमा सञ्चालनमा ल्याइएको हो।
बाढीका कारण आवतजावतमा समस्या भोगिरहेका स्थानीय बासिन्दालाई सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको पुल करिब २२ दिनमै सञ्चालनमा ल्याइएको बताइएको छ। पुल निर्माणका लागि आवश्यक लठ्ठा पूर्वाधार कार्यलय नुवाकोटले सहयोग गरेको थियो भने निर्माण व्यवसायीहरूले आर्थिक लगानी गरेका थिए।
छोटो समयमै पुल निर्माण भएपछि सर्वसाधारणलाई आवतजावतमा राहत मिलेको छ। बाढीपछिको संकटमा स्थानीय आवश्यकता पहिचान गरी व्यवसायीहरूले देखाएको सक्रियतालाई स्थानीयले महत्त्वपूर्ण योगदानका रूपमा लिएका छन्।
तर, पुल निर्माणमा वास्तविक योगदान पुर्याउने निर्माण व्यवसायी तथा सहयोगी संस्थाको भूमिकाभन्दा संघीय सरकारको नाम जोडेर प्रचार भइरहेको भन्दै केही स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। पुल निर्माणमा कसले कति आर्थिक तथा प्राविधिक सहयोग गर्यो भन्ने कुरा स्पष्ट रूपमा सार्वजनिक हुनुपर्ने उनीहरूको माग छ।
स्थानीयको गुनासो छ, निर्माण ब्यबसायी माहासंघको लगानी र स्थानीय निर्माण व्यवसायीको सहयोगमा निर्माण भएको संरचनाको जस सम्बन्धित निर्माणकर्ताले पाउनुपर्छ। संकटका बेला आफ्नै स्रोत र साधन परिचालन गरेर जनतालाई राहत दिने व्यक्तिहरू तथा संस्थाको योगदान ओझेलमा पारिनु उचित हुँदैन।
बाढी तथा प्राकृतिक विपत्तिपछि नागरिकको आवतजावत सहज बनाउने जिम्मेवारी सरकारको पनि हो। तर, निर्माण ब्यबसायी माहासंघ को लगानीमा सम्पन्न भएको कामलाई सरकारी उपलब्धिका रूपमा मात्र प्रस्तुत गरिएमा वास्तविक योगदानकर्ताको पहिचान हराउन सक्ने प्रश्न उठेको छ।
सरकारले विपद्पछिको पुनर्निर्माणमा आफ्नो भूमिका निर्वाह गर्नु आवश्यक भए पनि कुन काममा सरकारी बजेट खर्च भयो, कुन काम निजी क्षेत्रले निर्माण गर्यो र कसले के सहयोग गर्यो भन्ने विवरण पारदर्शी हुनुपर्छ। जनताको सेवामा योगदान गर्ने सबै पक्षको भूमिकालाई उचित मान्यता दिनु सरकारको दायित्व हो।

