काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना र भौतिक पुनर्निर्माणका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकममध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट २० लाख रुपैयाँ रहेको जनाएको छ।
सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भोटेकोशी बाढीमा सयौं नागरिकको ज्यान गएको, कयौं सम्पर्कविहीन भएको, धेरै परिवार विस्थापित भएको तथा ठूलो भौतिक क्षति पुगेकोप्रति बैंकले दुःख व्यक्त गरेको छ। बैंकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका अनुसार हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह भइरहेको छ।

