–विश्वनाथ खरेल
तराईमा बासोबास गर्ने हिन्दुहरुको महान् चाडको रुपमा लिइने छठपर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । त्यसैगरी छठ पर्व पनि मूलतः तराईबासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरुले मनाउँदै आएको महत्वपूर्ण साँस्कृति पर्व हो । खास गरीकन कात्तिक शुक्लशष्ठीका दिन मनाइने छठ पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरु विशेषगरी ठेकुवा, भुस्वा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ । छठ पर्वलाई ऐतिहासिक रुपमा अवलोकन गर्दा द्वापरयुगबाट शुरुवात भएको देखिन्छ । त्यसबेला भारत वर्षका मानिसले यस पर्वलाई मनाउँदै आएको थिए । समयको गति सँगसँगै मुलुकको तराई भागमा बसोबास गर्ने प्रायः गरी हिन्दू समुदायले यो पर्वलाई मनाउँदै आएका छन् । विस्तारै विस्तारै यो पर्व मुलुकको काठमाडौं उपत्यका लगायत विभिन्न शहरी क्षेत्रमा मनाउँदै आएका छन् । यस पर्वमा खासगरी पोखरी, नदी नाला आदि जलाशयलाई झिलिमिलि पारी सिंगारिन्छ । यसको धार्मिक मान्यता अनुसार सूर्यको पहिलो प्रकाश शरिरमा परेको खण्डमा रोग व्याधी नाश हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ । यो पर्वलाई गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक र आध्यत्मिक दुबै पक्षहरुले भरिभराउ भएको पर्व हो । यस सूर्य देवतालाई उपासना गर्नको लागि केराको घरी, विभिन्न प्रकारका फलफूल, थरीथरी र जात जातका फूलहरुले बेहुलीभन्दा पनि राम्रो सँग सिंगारिएको हुन्छ । यस पर्वमा माटाका भाँडाकुडाहरुले सजिसजाउ गर्ने चलन रहेको थियो भने आजभोली तामा तथा पित्तलका भाँडाकुडाहरु राख्ने चलनले गर्दा त्यति राम्रो र स्वाभायमान देखिदैन् ।
हिन्दु धर्मावलम्बीहरूको चाडका रूपमा मात्र चिनिएको यो चाड हिजोआज मुस्लिमलगायत अन्य धर्मावलम्बीहरूले समेत उत्तिकै हर्षोल्लासका साथ मनाउनुले यस चाडको महत्ता र प्रभाव पुष्टि गर्छ । हाम्रो देशको पहाडी, मधेसी, हिन्दु, मुसलमान, धनी, गरिब सबैले मनाउने यस चाडले नेपालीबीच जातीय, क्षेत्रीय सद्भाव र एकता, धार्मिक सहिष्णुतालाई अझ बलियो बनाउन मद्दत पु¥याइरहेको देखिन्छ । आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आफ्ना आमाबुवालाई समेत महत्व दिन छोडिएको वर्तमान समाजमा अस्ताउँदो सूर्यको यस पूजाले समस्त मानव समुदायलाई नैतिक शिक्षासमेत दिइरहेको हुन्छ । मुख्यतः सूर्यको पूजाआजा र उपासना गरी मनाइने यो चाडको पहिलो दिन अस्ताउँदो र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको पूजा उपासना स्वस्थ शरीरका लागि लाभदायक मानिन्छ । सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्छ भन्ने वैज्ञानिक र धार्मिक विश्वाससमेत रहेको छ । हिन्दु पात्रोअनुसार छठको अर्थ संख्या छौ हो, जुन कार्तिक शुक्ल पक्षको छैटौँ दिन अर्थात् षष्टि तिथिलाई जनाउँछ । संसारमा प्रायः सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबिलोनका निवासीहरूले सूर्यपूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलोका रूपमा पूजाआजा गर्ने गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । कात्तिक शुक्लषष्ठीलाई नै छठ पर्व भनिन्छ । यो सूर्यको ब्रत बस्ने वा उपसना गर्ने पर्व हो । यस मध्ये छठ पर्व पनि एक हो । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजा आजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौ दिनमा पर्दछ । यद्यपि पर्वको मुख्य विधि भने कात्तिक महिनाको चन्द्रोदयको चौथो दिन चौथोदेखि नै आरम्भ हुन्छ । चौथीको दिनलाई अरवा भनिन्छ जुन दिन ब्रतालु पुरुष वा महिलाको खोला, ताल तलाउ, नदि, पोखरीमा स्नान गरी शुद्ध भोजन गर्नुबाहेक अरु केही काम हुँदैन । चौथीको भोलिपल्ट र षष्ठीको अधिल्लो दिनमा भने छठ पर्वको तयारीको दिनको रुपमा लिइन्छ । यस दिनलाई खर्ना भनिन्छ । उक्त दिनमा दिनभरि उपवास बसेका ब्रतालुको मुख्य काम साँझ पुनः स्नान गरी कुलदेउता रहेको कोठामा नयाँ माटोको चुल्हो प्रयोग गरेर सूर्य पूजा आजाको लागि नैबेद्य, भेटी, विभिन्न किसिमका जात जातका फलफूल, मिठाई तयार पार्नुपर्छ । नैवेद्यमा विशेषतः पाकेको केरा, शुद्ध घिउमा बनाइएको गहँुको पीठोको रोटी, अरुवा चामलको खीर पर्दछन् । यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न गए अनिष्ट हुने र कुष्ठरोगको शिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ । पूजा सकिएपछि ब्रतालुले यिनै प्रसादको रुपमा आफूले खाने र ब्रत नबस्ने घरका सदस्यहरुलाई पनि खुवाउने चलन छ ।
सयौं वर्ष अधि देखि यो पर्व खास गरी कन तराई भागमा बसोबास गर्ने हिन्दूहरुले मान्दै आएका छन् । खासगरी कन यस ब्रतप्रति रुचि राख्ने महिला तथा पुरुषवर्ग, साना–साना बालबालिकाहरु समेतले पनि छठको ब्रत बसी पूजा आजा गर्न मन पराउनेको संख्यामा बृद्धि भएको पाइन्छ । यहाँ खास गरीकन थापाथलीको बागमतीको किनार र पशुपतिनाथको बागमतीको किनारमा ब्रत बस्ने ब्रतालुहरुको संख्या बढ्दै गएको देखिन्छ । यस पर्वमा सवै उमेरका महिलाहरु सक्रिय रहने छठ पर्वमा कात्तिक शुक्लष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । देबीभागवतअनुसार षष्ठीको ब्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ । भनिन्छ यो ब्रत बसेमा छठीमाईको ब्रत र पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति र छालासम्वन्धी, कुष्ठ रोगहरुबाट मुक्ति पाइने लोकोकृत जनमानसमा रहेको छ ।
समग्रमा भन्नुपर्दा यो ब्रतमा कडा नियम भएको कारणले गर्दा जस्ले ब्रत बस्न सक्छ त्यो व्यक्तिले मात्र उपवास बस्नु पर्ने हुन्छ । तर आफू उपवास बस्न नसक्ने भए अरुलाई पनि राख्न सकिन्छ ।

