काठमाडौं ।
काठमाडौं उपत्यकामा आज (सोमबार) पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा आज दिउँसो तथा साँझतिर खण्डित रूपमा वर्षा हुने सम्भावना छ। उनका अनुसार उपत्यकाका सबै स्थानमा एकनास वर्षा नहुने र कतै हल्का तथा कतै मध्यम वर्षा हुन सक्नेछ।
खण्डित अर्थात् ‘आइसोलेटेड’ वर्षा भन्नाले एउटै क्षेत्रमा पनि सबै ठाउँमा समान रूपमा पानी नपर्नु हो। केही स्थानमा वर्षा हुने र आसपासका क्षेत्रमा भने वर्षा नहुन पनि सक्ने मौसमविद्हरू बताउँछन्।
त्यसअघि काठमाडौं उपत्यकाको आकाशमा आंशिकदेखि साधारणतया बादल लाग्ने र घाम–बादलको अवस्था रहने सम्भावना छ।
देशभरको मौसम तथा वर्षाको सम्भावनाबारे मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे नियमित मौसम बुलेटिन सार्वजनिक गर्ने जनाएको छ।
भारतमा रहेको मौसम प्रणाली कमजोर भएसँगै नेपालमा केही दिनदेखि जारी लगातार वर्षा अहिले केही कम भएको छ। आइतबार साँझदेखि वर्षाको क्रम निकै घटेको भए पनि मनसुन अवधि अझै बाँकी रहेकाले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम जारी रहने महाशाखाले जनाएको छ।

