काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकको सहयोगका लागि नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।
पार्टीले विपद्को यस कठिन घडीमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
पार्टीका अनुसार नगद सहयोगसँगै आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरिएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायतका राहत सामग्री उपलब्ध गराउन पार्टीले पहल गर्ने जनाएको छ।
रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, राजनीतिक दल, सरकार तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ।
नेपाली कम्युनिष्ट पार्टीले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु राजनीतिक दलको सामाजिक दायित्व भएको भन्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा थप सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।

