✍️धर्म डंगोल
आज राजपत्रमा गैरदलित समुदाय दलितको सूचीमा सूचीकृत भएको विषयलाई लिएर जसरी आक्रोश, असन्तुष्टि र पीडाका अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन्, ती अभिव्यक्तिहरू पढ्दा एउटा गम्भीर प्रश्न मनमा उब्जिन्छ—एउटा सरकारी कागजमा आफ्नो नाम वा पहिचान जोडिएको विषयले यति धेरै पीडा दिन्छ भने, पुस्तौँदेखि जन्मकै आधारमा अपमानित, बहिष्कृत र अमानवीय व्यवहार सहन बाध्य पारिएका दलितहरूको मन कति पटक रोयो होला ? आज कसैलाई आफ्नो सामाजिक पहिचानमाथि चोट पुगेको अनुभूति भइरहेको छ, कसैलाई प्रतिष्ठा गुमेको चिन्ता छ, कसैलाई आफूलाई दलित समुदायसँग जोडेर हेरिनुपर्दा आत्मसम्मानमा धक्का लागेको महसुस भएको छ। तर कहिल्यै सोच्नुभएको छ, यही समाजमा दलित भएर जन्मिएकै कारण कति मानिसले जीवनभर आफ्नो आत्मसम्मानको हत्या भएको पीडा बोकेर बाँच्नुपर्यो ? कति आमाहरूले आफ्ना सन्तानलाई जातका नाममा अपमानित भएको देखेर आँसु लुकाउनुपर्यो ? कति बाबुहरूले आफ्नो सीप, श्रम र पसिनाले समाज धान्दा पनि सामाजिक रूपमा हेपिएर मौन बस्नुपर्यो ? कति बालबालिकाले विद्यालयमा आफ्नो थरका कारण अपमान सहनुपर्यो ? कति मानिसले सार्वजनिक धारामा पानी छुन नपाएर तिर्खा सहनुपर्यो ? कति मानिसलाई मन्दिरको ढोकाबाट फर्काइयो, भोजमा अलग बसालियो, घरभित्र पस्न रोकियो र मानवीय सम्बन्धसमेत जातको तराजुमा जोखियो ? ती अपमानका घाउ कसले गन्यो ? ती आँसुको मूल्य कसले तिर्यो ? ती पुस्तौँदेखिका पीडाको क्षतिपूर्ति कसले दियो ?
विडम्बना त के छ भने, आज एउटा सूचिमाआफ्नो स्मुदाय समावेश भएको विषयले कसैको आत्मसम्मानमा चोट पुग्दा हामी भावनाको भाषा बोलिरहेका छौँ, तर शताब्दीयौँसम्म एउटा समुदायको आत्मसम्मान कुल्चिँदा यही समाजको विवेक किन मौन थियो ? आफ्नो पहिचानमाथि प्रश्न उठ्दा असह्य हुनेहरूलाई अरूको पहिचानमाथि पुस्तौँदेखि प्रश्न उठाइँदा किन असह्य भएन ? आफ्नो सामाजिक प्रतिष्ठाको चिन्ता गर्नेहरूलाई अरूको प्रतिष्ठा सार्वजनिक रूपमा लुटिँदा किन पीडा भएन ? आफ्नो अस्तित्वमाथि चोट पुग्दा अन्याय देख्ने आँखाले अरूको अस्तित्वमाथि निरन्तर प्रहार हुँदा किन न्याय देख्न सकेन ? यो प्रश्न केवल कुनै व्यक्ति वा समुदायलाई होइन, हाम्रो सामाजिक चेतना र दोहोरो मापदण्डलाई हो।
स्पष्ट हुनुपर्छ, कसैलाई गलत आधारमा कुनै सूचीमा समावेश गरिएको छ भने त्यसको कानुनी, तथ्यगत र नीतिगत प्रश्न उठाउन पाइन्छ। प्रमाण माग्न पाइन्छ, छानबिन गर्न पाइन्छ र त्रुटि सच्याउन पनि पाइन्छ। तर एउटा समुदायको सूचीकृत हुने विषयलाई बहाना बनाएर दलित पहिचानलाई नै अपमान, हीनता वा सामाजिक प्रतिष्ठा घट्ने विषयका रूपमा प्रस्तुत गर्ने अधिकार कसैलाई छैन। दलित हुनु न त अपराध हो, न त लज्जा हो, न त कसैको मानवीय मूल्य घटाउने परिचय। बरु दलित समुदायले पुस्तौँदेखि भोगेको उत्पीडन हाम्रो समाजको इतिहासमा लागेको यस्तो कलङ्क हो, जसलाई स्वीकार नगरी सभ्यताको जतिसुकै भाषण गरे पनि त्यो सभ्यता अधुरै रहन्छ।
आज जसलाई दलित पहिचानसँग जोडिनु पीडादायी लागिरहेको छ, उनीहरूले एकपटक इतिहासको त्यो अँध्यारो गल्लीमा पुगेर हेरून्, जहाँ मानिसको योग्यता होइन जात सोधिन्थ्यो, श्रम होइन थर हेरिन्थ्यो, चरित्र होइन जन्मको आधारमा सम्मान र अपमान बाँडिन्थ्यो। जहाँ मानिसको छायाँसम्म अपवित्र मानिन्थ्यो, जहाँ एउटै धाराको पानी पिउन पाउने अधिकारसमेत जन्मका आधारमा खोसिन्थ्यो। त्यहाँ बाँच्नु कति कठिन थियो होला ? आफ्नै देशमा, आफ्नै गाउँमा, आफ्नै समाजमा आफूलाई दोस्रो दर्जाको मानिस ठहर गरिँदा आत्माले कति चीत्कार गरेको होला ? आफ्नो सन्तानले आफूले भोगेको अपमान फेरि भोग्नुपर्ला भन्ने डरले कति आमाबाबुको निद्रा हराएको होला ? त्यो पीडाको गहिराइ बुझ्न एउटा दिनको आक्रोश पर्याप्त हुँदैन, त्यसका लागि इतिहासप्रतिको इमानदार दृष्टि र मानवीय संवेदना चाहिन्छ।
हामीले आरक्षणको बहस गर्न सक्छौँ, नीतिको आलोचना गर्न सक्छौँ, समावेशिताको कार्यान्वयनमाथि प्रश्न उठाउन सक्छौँ। तर सामाजिक न्यायको मूल मर्ममाथि प्रहार गरेर समानताको पक्षधर भएको अभिनय गर्न सक्दैनौँ। अधिकारको बहस गर्दा उत्पीडितको इतिहास मेटाउन खोज्नु न्याय होइन। कसैको कथित प्रतिष्ठा जोगाउने नाममा अर्को समुदायको ऐतिहासिक पीडालाई तुच्छ ठान्नु सभ्यता होइन। दलित समुदायले मागेको कुनै विशेष कृपा होइन; मागेको त त्यही सम्मान हो, जुन अरूले जन्मँदै सहज रूपमा पाए र उनीहरूले पुस्तौँसम्म संघर्ष गरेर पनि पूर्ण रूपमा पाउन सकेनन्। उनीहरूले खोजेको दया होइन, समानता हो; सहानुभूति होइन, सम्मान हो; खोक्रो भाषण होइन, व्यवहारमा देखिने न्याय हो।
त्यसैले आज आफ्नो पहिचानमा चोट पुगेको भन्दै आक्रोश व्यक्त गर्नुअघि इतिहासले दलित समुदायको पहिचानमाथि पुर्याएको चोट सम्झिनुहोस्। आफ्नो आत्मसम्मानको कुरा गर्दा अरूको आत्मसम्मान कति पटक लिलाम भयो भन्ने पनि सम्झिनुहोस्। आफ्नो पीडालाई ठूलो ठान्ने अधिकार सबैलाई छ, तर अरूको पीडालाई सानो ठान्ने अधिकार कसैलाई छैन। एउटा सूचिमा नाम पर्दा आत्मसम्मान दुख्ने समाजले पुस्तौँसम्म मानिसलाई जातका नाममा अपमानित गर्दा आफ्नो आत्मसम्मान कहाँ राखेको थियो ? आजको बहसले यही प्रश्नको उत्तर खोज्नुपर्छ।
अन्ततः, दलित हुनु अपमान होइन; दलितलाई अपमानित गर्ने सोच अपमान हो। दलित पहिचान समस्या होइन; जातीय अहंकार र विभेदकारी मानसिकता समस्या हो। कुनै सरकारी राजपत्रले कसैको वास्तविक सामाजिक इतिहास रातारात बदल्न सक्दैन, न त कसैको मानवीय गरिमा घटाउन सक्छ। तर हाम्रो प्रतिक्रियाले भने हाम्रो चेतनाको स्तर अवश्य उजागर गर्छ। याद रहोस्, इतिहासभरि अरूलाई रुवाएर आफू नरोएको समाजले आज आफ्नो आँखामा आँसु आएको भन्दै न्यायको परिभाषा बदल्न पाउँदैन। अरूको घाउलाई घाउ मान्न नसक्ने संवेदनाले आफ्नो चोटको न्याय पनि माग्न सक्दैन।

