काठमाडौं
हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा विस्थापित परिवारलाई नौ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री वितरण गरिएको छ।
समाजसेवी तथा श्रम संस्कृति पार्टीकी केन्द्रीय सचिव शान्ति पाख्रिन र अखिल नेपाल महिला संगठनकी केन्द्रीय कार्यालय सदस्य याङ्छेनभोटेको पहलमा बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
राहत वितरणका क्रममा प्रभावित तथा विस्थापित परिवारलाई चामल, दाल, कुकर, कपडा, कम्बल, सिरक, सिरानी, टेन्ट, सेनेटरी प्याडलगायतका दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री उपलब्ध गराइएको जनाइएको छ।
बाढीपहिरोका कारण घरबार गुमाएका तथा सुरक्षित स्थानमा विस्थापित भएका परिवार, महिला, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकतामा राखेर राहत सामग्री वितरण गरिएको बताइएको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहत अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
पाख्रिन र याङ्छेनभोटेको पहलमा विभिन्न सहयोगी तथा शुभेच्छुकको सहकार्यमा संकलित नौ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सामग्री प्रभावित परिवारसम्म पुर्याइएको हो। राहत वितरणले बाढीपहिरोबाट पीडित परिवारलाई तत्कालका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्रीको अभाव कम गर्न सहयोग पुगेको जनाइएको छ।
बाढीपहिरोबाट प्रभावित क्षेत्रमा अझै पनि खाद्यान्न, आवास, स्वास्थ्य सामग्रीलगायतका अत्यावश्यक वस्तुको आवश्यकता रहेकाले राहत तथा पुनःस्थापनाका कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

