काठमाडौँ, भदौ २६ । कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा शुक्रबार बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।
गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पितृको स्मरण गर्दै श्रद्धालुहरूले तर्पण, आमान्न तथा पिण्डदान गरेका छन्। पितृप्रति श्रद्धा र सम्मान व्यक्त गर्न बिहानैदेखि भक्तजनहरू गोकर्णेश्वर पुगेका थिए।
धार्मिक परम्पराअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा दिवङ्गत पितृले मुक्ति प्राप्त गर्ने विश्वास छ। धार्मिक मान्यतामा यस दिन गरिएको पितृकार्यबाट २१ पुस्तासम्मका पितृलाई पुण्य प्राप्त हुने विश्वाससमेत रहेको छ।
यसै दिन वर्षभरिका धार्मिक तथा संस्कारजन्य कार्यमा प्रयोग गरिने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यस दिनलाई ‘कुशे औँसी’ भनिएको हो। धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूपका रूपमा समेत लिइन्छ।
कुशे औँसीलाई बाबुप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष दिनका रूपमा पनि मनाइन्छ। जीवित बाबुलाई सम्मान गर्ने तथा दिवङ्गत बाबु र पितृको स्मरणमा धार्मिक कर्म गर्ने चलन रहेको छ।

