काठमाडौं ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा प्राज्ञ परिषद्का सदस्यहरूले मण्डला थिएटर, थापागाउँमा रङ्गकर्मीहरूसँग आत्मीय भेटघाट तथा अन्तर्क्रिया गरेका छन्।
भेटघाटका क्रममा मण्डला थिएटरका रङ्गकर्मीहरूले आफ्नो सिर्जनात्मक यात्रा, अनुभव तथा भोगाइका विविध पक्षबारे जानकारी गराउँदै नेपाली रङ्गमञ्चको वर्तमान अवस्था र सम्भावनाबारे विचार आदान–प्रदान गरेका थिए।
कार्यक्रममा नेपाली रङ्गमञ्चले सामना गरिरहेका चुनौती, सिर्जनात्मक अभ्यास, व्यावसायिक सम्भावना तथा आगामी यात्राका विषयमा गहन छलफल भएको थियो। सहभागीहरूले नेपाली रङ्गमञ्चको विकास र प्रवर्द्धनका लागि प्राज्ञिक तथा व्यावसायिक क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
मण्डला थिएटरले नेपाली कला, साहित्य तथा रङ्गमञ्चको विकासका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले गर्दै आएको पहलप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा यस्ता भेटघाट, संवाद र सहकार्यलाई निरन्तरता दिँदै नेपाली रङ्गमञ्चलाई थप समृद्ध, सिर्जनशील र सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको थिएटरले जनाएको छ।
मण्डला थिएटर परिवारले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति, आत्मीयता र सार्थक संवादका लागि धन्यवादसमेत व्यक्त गरेको छ।

