अब मन पनि एक होस्
पार्टी तह एक भयो कमरेडहरू,
अब मन पनि एक होस्,
घटक–घटकका पर्खाल भत्काई,
साझा सपनाको बाटो एक होस्।
हिजो कसले कति लड्यो,
कसले कति बलिदान दियो,
इतिहासले सबै सम्झनेछ,
अब भविष्यले के माग्यो—
त्यसतिर हाम्रो पाइला होस्।
माथिबाट जिम्मेवारी आए
स्वीकार गर्ने संस्कार होस्,
तलबाट नेतृत्व छान्दा पनि
योग्यताको आधार होस्।
आफ्नो मान्छे होइन,
सही मान्छे रोजौँ,
गुटको झण्डा होइन,
जनताको आवाज बोकौँ।
कुर्सीका लागि होइन हाम्रो यात्रा,
जनताको मुहारमा उज्यालो ल्याउन हो,
गरिबको चुलो बलाउन हो,
श्रमजीवीको पसिनालाई
सम्मान दिलाउन हो।
हिजोका संघर्ष नबिर्सौँ,
सहिदका सपना नभुलौँ,
गणतन्त्र ल्याउने यात्रालाई
व्यक्तिगत स्वार्थमा नतुलौँ।
अब विभाजन होइन—एकता चाहिन्छ,
आरोप होइन—विश्वास चाहिन्छ,
व्यक्ति होइन—विचार चाहिन्छ,
पद होइन—जनताको अधिकार चाहिन्छ।
पार्टी एकता कागजमा होइन,
व्यवहारमा देखिनुपर्छ,
हामीभित्रको मन मिलाएर
नयाँ इतिहास लेखिनुपर्छ।
हातमा हात, काँधमा काँध,
एउटै लक्ष्य, एउटै बाटो होस्,
क्रान्तिको सपना बोकेका कमरेडहरू,
अब मन पनि एक होस्।
— अम्बिका कुमारी वाइबा

